January 24, 2022, Monday
२०७८ माघ १०, सोमबार

कांग्रेस महाधिवेशन : आज मतदान हुने

नेपाली कांग्रेसको १४औं महाअधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । मतदानका लागि तीन स्थानमा मतदान केन्द्र तोकिएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार आज सोमबार बिहान ८ बजेबाट मतदान सुरु हुनेछ । मतदानका लागि भृकुटी मण्डपभित्र दुई र राष्ट्रिय सभा गृहमा एक मतदान स्थल स्थापना गरिएको हो ।

तीन मतदान स्थलमा १ हजार १ सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । एक मतदाताले २९ वटा मतपत्रमा मत हाल्नुपर्ने छ ।राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ–शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी, भृकुटीमण्डपको प्रांगणमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ भने भृकुटीमण्डपको हलमा प्रदेश १, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका मतदाताले मतदान गर्ने गरी व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय प्रचार समितिका अनुसार निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ ।

मतदानका लागि राष्ट्रिय सभागृहमा २ सय ९३, भृकुटीमण्डप प्रांगणमा २ सय ९३ बुथ र भृकुटीमण्डपको हलमा ५ सय १४ बुथ राखिने भएको छ । मतदान आज वेलुका ५ बजेसम्म हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको