April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

कांग्रेसको महाधिवेशन : प्रतिनिधिलाई १२ सयको खाना,८ सयको कोठा

काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि २४ मंसिरबाट काठमाडौंमा १४औं महाधिवेशन हुँदै छ । महाधिवेशनमा देश तथा विदेशबाट गरी ४ हजार ६ सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशनमा ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने छन् । यसैगरी, ती निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, जिल्ला कार्यसमितिका सभापतिसहित, भ्रातृ एवं शुभेच्छुक संघसंस्थाबाट निर्वाचित प्रतिनिधिहरू पनि महाधिवेशन प्रतिनिधिका रूपमा आउनेछन् ।

यसैगरी, विदेशस्थित जनसम्पर्क समितिबाट पनि कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधि आउँदै छन् । विदेशबाट कति प्रतिनिधि आउँछन् भन्ने अझै तय भइसकेको छैन ।

कांग्रेसले महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई ठमेल, गौशाला र सुन्धारामा आवासको व्यवस्था गरेको छ । कांग्रेसको आवास तथा भोजन समितिका संयोजक सुरेन्द्र पाण्डेका अनुसार महाधिवेशन प्रतिनिधिहरूका लागि काठमाडौंमा ८६ वटा होटलमा ४ हजार ६ सय कोठा बुक गरिएको छ ।

महाधिवेशनमा खान र बस्नका लागि मात्रै ३ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान कांग्रेसको छ । महाधिवेशनमा आउनेहरूका लागि २३ देखि २७ गतेसम्म आवासको व्यवस्था गरिएको संयोजक पाण्डेले जानकारी दिए । ती होटलको एउटा कोठाको भाडा ८ सय रुपैयाँ पर्नेछ ।

यसैगरी, प्रतिनिधिहरूलाई महाधिवेशनस्थल भृकुटीमण्डपमा नै खानाको व्यवस्था गरिएको छ । कांग्रेसले एक छाक खानाको १२ सय रुपैयाँ छुट्याएको छ । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको