March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

पाटन जिप दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

बैतडी, मंसिर २१ । बैतडीको पाटन नगरपालिका( १ सकारमा हिजो साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

पाटन नगरपालिका १ सकारकी ४० बर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए।

जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका( ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा कच्ची सडकबाट करीब ४ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा सुर्नया गाउँपालिका ४ का २४ बर्षीय प्रेम चुनारा र उनकी श्रीमति २० बर्षीया मनिषा विक, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।

मनिषा र प्रेमले १० दिन अघि मात्रै विवाह गरेर पाटन नगरपालिका( ७ स्थित ससुराली गइरहेका थिए ।दुर्घटनामा परेर घाइते भएका ५ जनामध्ये दुईजनालाई डडेल्धुरा रेफर गरिएको प्रहरी निरीक्षक शाहीले बताए। सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्द विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ ।

जिप चालक बैतडीको पाटन नगरपालिका ५ अड्तोलाका खेमराज पाण्डे भने फरार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको