January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

एमाले निर्वाचन तालिका सर्‍यो, प्रतिनिधि घर हिडे

सौराहा, (चितवन),मङ्सिर १३ गते । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन तालिका पुन पछि सरेको छ । राती ९ बजे मतदान गर्ने भनिए पनि नामावली फिर्ता लिने क्रम चलेकाले मतदान गर्ने समय ११ बजेलाई सारिएको निर्वाचन संयोजक विजय सुब्बाले जानकारी दिनु भयो । उम्मेदवारी फिर्ता लिने क्रम सकिए पछि मात्र अन्तिम नामावली प्रकाशित गर्ने सुब्बाले बताउनु भयो । के कति उमेदवारले नाम फिर्ता लिए भन्ने बारे अहिले भन्न नसकिने उहाले जानकारी दिनुभयो ।

थोरै संख्यामा उमेदवारी परेकाले निर्वाचन हुदैन कि भन्ने लागेर कतिपय प्रतिनिधिहरु घर जानू भएको आफुले सूचना पाएको सुब्बाले बताउनुभयो । धेरै प्रतिनिधि भएमा धेरै समय लाग्ने र थोरै भएमा छिटो मतदान को काम सकिने उहाँले जानकारी दिनु भयो ।

पदाधिकारी र केन्द्रीय सद्स्यमा निर्वाचन

पदाधिकारीसहित केन्द्रीय सदस्यहरुमा निर्वाचन हुने भएको छ । सात प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुकालागि अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र हलमा आइतबार राति प्रस्ताव गरेभन्दा बाहेकले समेत उम्मेदवारी दिएपछि सोमबार राति ११ बजे पछि निर्वाचन हुने भएको हो ।
शनिबारदेखि सहमतीको प्रयास गरे पनि सफल हुन सकेको थिएन । आइतबार राती अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्य र सोमबार विहान ३ बजे पदाधिकारीको नाम सर्वसम्मतिका लागि घोषणा गरेपनि उमेदवारी परेको छ ।

एक अध्यक्षमा दुइजनाको उमेदवारी परेको छ । अध्यक्ष केपी शर्मा ओली र भीम रावलको उमेदवारी परेको हो । रावलले आफूलाई मत दिनको लागि प्रतिनिधिहरुसंग मत माग्दै हिड्नु भएको छ । त्यस्तै गरी ६ उपाध्यक्षमा ७ जनाको उमेदवारी परेको छ । ओलीले घोषणा गर्नु भएको भन्दा बाहेक धनश्याम भुसालले उपाध्यक्षमा उमेदवारी हालेपछि यस पदमा मतदान हुँदैछ । एमालेमा ६ जना उपाध्यक्षको व्यवस्था रहेको छ । उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम आइतबार राति घोषणा भएको थियो ।

यस्तै सचिवमा पनि चुनाव हुने भएको छ । एमालेमा सात जना सचिव रहने छन् । ओलीले यसअघि टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिव बनाउने सूचि तयार पार्नु भएको थियो । तर, ओलीको सूचीमा नअटाएका भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि चुनाव हुने भएको छ । निर्वाचन स्थलमा उपाध्यक्ष पदका उमेदवार घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सचिवका उमेदवार, केन्द्रीय सदस्यका उमेदवार मत माग्दै हिड्नु भएको छ ।
निर्वाचन आयोगले उम्मेदवारहरुलाई निर्वाचन आचारसंहितामा पालना गर्न अनुरोध गरेको छ । मतदाताले प्रचारप्रसार गर्दा निर्वाचन सामाग्री ठूलो प्रदर्शन गर्न पाइने छैन भने समूहगत छलफल पनि गर्न पाइने छैन । आचारसंहिता विपरीत काम भएमा आयोगले उम्मेदवारी वदर गर्नसक्ने जनाएको छ । एमाले महाधिवेशनमा कुल प्रतिनिधिको संख्या २ हजार १ सय ७५ रहेको छ ।

निर्वाचन आयोगले विहान ९ बजेबाट उमेदवारी दर्ता र १० बजे नामावली प्रकाशन गर्ने सूचना थियो । तर दिउँसो अवेर मात्र पहिलो नामावाली प्रकाशन गरेको थियो । केन्द्रीय सदस्यहरुमा नाम फिर्ता हुने क्रम रहेकाले निर्वाचन तालिकापछि सरेको निर्वाचन आयोगका संयोजक विजय सुब्बाले जानकारी दिनु भयो । आफ्नो नाम फिर्ता लिन चाहनेहरुको लागि समय थप गरिराखेका छौ राति ९ बजे भनेकोमा यो समय थपेर ११ बजेलाई पु-याएको छ ।

अन्तिम नामावली प्रकाशन भएपछि दुइ घण्टा विद्युतीय मेसिनमा सेट गर्न लाग्ने छ । मतदाताले मत हाल्नको लागि कम्तीमा एक जनालाई बीस मिनेट लाग्दछ सुव्वाले भन्नु भयो । मतदान प्रकृया कम्तीमा तीन घण्टा भन्दा लामो समय चल्न सक्ने छ । यसको परिणाम आउन मंगलबार विहान लाग्ने जानकारी दिनु भयो ।

शीर्ष समाचार

धेरै पढिएको