October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

नेपाली नर्सहरू बेलायत रोजगारमा जाँदा एक रूपैयाँ पनि तिर्नु नपर्ने

नेपाली नर्सहरू बेलायत रोजगारमा जाँदा एक रूपैयाँ पनि तिर्नु नपर्ने भएको छ। नेपाल सरकारले बेलायत सरकारसँग ‘फ्रि भिसा फ्रि टिकट’ मा नर्सहरू पठाउने तयारी गरेको हो।

वैदेशिक रोजगारका लागि सरकारी संयन्त्रमार्फत शून्य लागतमा नेपाली पठाउन लागिएको यो पहिलोपटक हो।

invotech
बेलायत सरकारले एक लाख विदेशी नर्स लैजाने तयारी गरेकाले त्यसमा नेपालबाट कति लैजान्छ भन्ने यकिन छैन। तर कम्तीमा १० हजार नर्स पठाउन सकिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

सरकारले भर्ना प्रक्रिया सरल बनाउने हो भने नेपालमा बेरोजगारी झेलिरहेका ठूलो संख्याका नर्सहरूले अवसर पाउनेमा सरकारी अधिकारीहरू विश्वस्त छन्।

नेपाल नर्सिङ काउन्सिलका अनुसार नेपालमा गत भदौ २० गतेसम्म ६७ हजार २२ जना नर्स दर्ता छन्। त्यस्तै, मिडवाइफ २३ जना छन् भने अनमी संख्या ३५ हजार ३ सय ६४ छ। विदेशिएका नर्सको तथ्यांक २५ हजारभन्दा बढी छ। यो संख्या औपचारिक रूपमा विदेशिएका नर्सहरूको मात्रै हो। व्यक्तिगत तर्फबाट तथा अध्ययन सिलसिलामा विदेशिएकाहरूको यकिन तथ्यांक नभएको काउन्सिलले बताएको छ।

sanimaeveryghar box ad 2nmb
अधिकांश नर्स नेपालमा भनेजस्तो पारिश्रमिक तथा सेवासुविधा नहुँदा पलायन हुने गरेको काउन्सिलकी रजिस्ट्रार बिन्दा घिमिरे बताउँछिन्।

उनका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड पूरा गर्ने हो नेपालभित्रै नर्सको अभाव हुने स्थिति छ। तर मापदण्डअनुसार नर्सको दरबन्दी नहुँदा नेपालमा ३० हजारभन्दा बढी नर्स बेरोजगार छन्। डब्लुएचओका अनुसार हरेक १० हजार जनसंख्याका लागि चिकित्सक, नर्स तथा मिडवाइफ गरी जम्मा २३ हजार आवश्यक पर्छ।

नेपालमा यो तथ्यांक हेर्ने हो भने १० हजार जनसंख्याको भागमा १४ जना नर्स तथा मिडवाइफ पुग्न पनि मुस्किल छ।

डब्युएचओको मापदण्डअनुसार एउटा जनरल वार्डमा एक जना नर्सले चारदेखि छ जना बिरामी हेर्नुपर्छ। सुत्केरी वार्डको एउटा बेडमा दुई जना नर्स आवश्यक पर्छ। सिसियू, आइसियूजस्ता वार्डमा एक जना बिरामी बराबर एक जना नर्स हुनुपर्ने व्यवस्था छ।

अपरेसन थिएटरमा एक बेडमा एक जना नर्स हुनुपर्ने डब्लुएचओको मापदण्ड छ। डब्लुएचओको यस्तो मापदण्डमा नेपाल सरकारले समेत हस्ताक्षर गरेको छ। तर यो पालना हुन सकेको छैन। त्यसो हुँदा पनि लाखौं खर्चेर नर्सिङ पढेकाहरूले मासिक १० हजारको जागिरसमेत पाउन मुस्किल हुने अवस्था छ।

सरकारले देशभित्रको आवश्यकता हेरेर सकेसम्म दक्ष जनशक्ति पलायन हुनबाट रोक्नुपर्ने रजिस्ट्रार घिमिरे बताउँछिन्। देशमा अवसर नहुने स्थितिमा मात्रै विकल्पका रूपमा उनीहरूलाई वैदेशिक रोजगारको खोजी गर्नुपर्ने उनको भनाइ छ।

‘नेपालमा उत्पादन भएका नर्सहरू नेपालमै टिकाउने गरी सरकारले वातावरण सिर्जना गर्न आवश्यक छ। अहिलेको जस्तो अवस्था भइराख्ने हो भने नर्सहरू विदेश पलायन हुने क्रम बढ्छ र विस्तारै नेपालमा अभाव सिर्जना हुन्छ,’ उनले भनिन्।

सरकारले नर्सहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको पनि उनले औंल्याइन।

नर्सहरूको क्षमता अभिवृद्धिमा पनि बेलायत सरकारले चासो देखाएको मन्त्रालयले जनाएको छ। यसका लागि बेलायतले प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको अधिकारीहरूले बताएका छन्।

पहिलो चरणमा तीन सयसम्म नर्स लैजाने

बेलायतले नेपालबाट पहिलो चरणमा कति नर्स लैजाने भन्ने यकिन भइसकेको छैन। तर पहिलो चरणमा तीन सयसम्म लैजान सक्ने अनुमान गरिएको छ। पहिलो चरणको भर्ना प्रक्रिया पारदर्शी भयो भने बेलायतले चरणबद्ध रूपमा माग बढाउने विश्वास लिइएको छ।

भर्ना प्रक्रिया पारदर्शी र सहज हुन सके मात्रै बेलायतको अवसरले निरन्तरता पाउने हुँदा सुरूदेखि नै संयमितता अपनाउन जरूरी रहेको मन्त्रालयको भनाइ छ। आफूहरूले त्यसैअनुसार तयारी गर्ने मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले जानकारी दिए। उनका अनुसार बेलायतले कुन तहका कति नर्स लैजाने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन।

दुई पक्षीय छलफलमार्फत यी विषयको टुंगो लगाइने उपसचिव डा. भुसाल बताउँछन्। ‘हामी श्रम सम्झौता गर्छौं। त्यसमा श्रमिकका हकहितका सबै कुरा समेटिन्छन्,’ उनले सेतोपाटीसँग भने।

यसका लागि नेपाल सरकारको उच्चस्तरीय समिति गठन भइसकेको छ। श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, चिकित्सा शिक्षा आयोग, वैदेशिक रोजगार विभाग लगायत निकायका उच्च अधिकारी सम्मिलित समिति गठन भएको मन्त्रालयले जानकारी दिएको छ।

यो समिति र बेलायत सरकारको समितिबीच छलफल तथा सहमतिपछि श्रम सम्झौताको प्रक्रिया अगाडि बढ्नेछ।सम्झौता प्रक्रियापछि नेपाली श्रमिक भर्ना प्रक्रिया अगाडि बढाइने छ।

आइइएलटिसमा न्यूनतम ७ स्कोर ल्याउनुपर्ने

बेलायत सरकारले बेलायत जान चाहने नर्सहरूले आइइएलटिएसमा कम्तीमा ७ स्कोर ल्याउनुपर्ने माग राखेको छ। नेपाल सरकारले भने न्यूनतम ६.५ स्कोर ल्याए उत्तीर्ण हुने व्यवस्था मिलाउन लबिङ गरिरहेको उपसचिव डा. भुसालले बताए।

भाषा परीक्षण पनि निःशुल्क बेलायत जानेले भर्ना प्रक्रियाका लागि कुनै पनि शुल्क तिर्नुपर्दैन। बेलायत जानेले भाषा परीक्षण शुल्कसमेत तिर्नु नपर्ने मन्त्रालयका उपसचिव भुसालले जानकारी दिए।

‘बेलायत जानेले एक रूपैयाँ पनि सेवाशुल्क तिर्नुपर्दैन,’ उनले भने।बेलायतमा नेपाली नर्सहरूले के कस्तो सेवासुविधा पाउँछन् भन्नेबारे औपचारिक जानकारी आइसकेको छैन। तर आकर्षक तलब र सेवासुविधा पाउने सरकारको विश्वास छ। अनौपचारिक कुराकानी गर्दा मासिक पाँच लाखभन्दा बढी आम्दानी हुने जानकारी प्राप्त भएको मन्त्रालयको भनाइ छ।

शीर्ष समाचार

धेरै पढिएको