May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

एमालेको १०औं महाधिवेशनः प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

काठमाडौं, मंसिर ९। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरेका छौं,’ सुब्बाले भने ।

कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता कुनै पनि सामग्री वितरण गर्नमा आयोगले बन्देज गरेको छ । उम्मेदवारले आफ्नो पहिचान खुल्ने परिचयबाहेक अन्य सामग्रीहरू सार्वजनिक गरेमा आयोगले कारबाही गर्ने चेतावनी दिएको छ ।

महाधिवेशन प्रतिनिधिले सर्वसम्मत चयन गर्न नसकेको अवस्था आयोगको तर्फबाट निर्वाचनका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा भएको सुब्बाले बताए । आयोगले बिहीबारदेखि निर्वाचन प्रक्रियाका लागि चितवनको सौराहामा कार्यालय सञ्चालन गर्दै छ ।

एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोह १० मंसिरमा चितवनको नारायणी नदीको किनारमा हुँदै छ । महाधिवेशनको बन्दसत्र सौराहको सेभेन स्टार होटलमा ११ र १२ मंसिरमा हुँदै छ ।

निर्वाचन आयोगका अध्यक्ष डा सुब्बाका अनुसार ११ मंसिरमा उम्मेदवारी दर्ता र सोही दिन फिर्ता लिने कार्यक्रम रहेको छ ११ मंसिर बेलुकी ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ भने १२ मंसिरमा मतदान सुरु हुनेछ ।

आयोगले १ सय वटा विद्युतीय मतदान मेसिन (इलेक्ट्रोनिक भोटिङ मेसिन)बाट मतदान गराउने तयारी पूरा गरेको छ । आयोगले ९२ वटा मेसिनहरू निर्वाचनका लागि प्रयोग गर्ने जनाएको छ । तीनवटा मेसिन नमुना मतदानका लागि आयोगको कार्यालय अगाडि खुला रूपमा राखिनेछ । ती मेसिनहरू मतदान कसरी गर्ने भन्नेमा प्रतिनिधिलाई सिकाउनका लागि राखिनेछ । पाँचवटा मेसिनहरू जगेडामा राखिनेछ । मतदानका क्रममा कुनै मेसिनमा गडबडी आएमा जगेडाका मेसिनहरू प्रयोग गरिने सुब्बाले बताए ।

एक जना प्रतिनिधिलाई मतदान गर्न सरदर आधा घण्टा लाग्ने अनुमान छ । एउटा मेसिनमा करिब २२ जनादेखि ३० जनाले मतदान गर्नेछन् । मतदान सकिएको करिब २ घण्टाभित्र नतिजासमेत सार्वजनिक गर्ने तयारी आयोगको छ । प्रत्येक मेसिनबाट अलगअलग मतगणना गर्ने भएको हुँदा त्यति समय लाग्ने आयोगको जनाएको छ । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको