
काठमाडौं, गोला प्रक्रियाबाट सर्वोच्च अदालतमा दैनिक मुद्दाको पेसी तोक्ने प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानन्यायाधीशले तोक्दै आएको मुद्दाको पेसी अटोमेसन प्रणालीबाट सुरु हुन लागेको हो ।
गत कात्तिक ७ देखि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सहकर्मी न्यायाधीशले मुद्दा सुनुवाइ गर्न छोडेपछि बाध्य भएर गोला प्रक्रियामा जान तयारी गरेको हो ।
यसअघि राजीनामा माग गर्दै न्याय सेवा ठप्प भइरहेका बेला गोला प्रक्रियाबाट मुद्दाको दैनिक पेसी तोक्न नियमावली र निर्देशिका संशोधन गर्ने निर्णय बिहीबार भएको थियो ।
नियमावली र निर्देशिका संशोधनको बेहोरा आज राजपत्रमा प्रकाशित हुँदैछ । राजपत्रमा प्रकाशित भएपछि सर्वोच्च अदालतको पूर्ण बैठकले कुन दिनदेखि लागू गर्ने भन्ने तय गर्नेछ ।
नयाँ प्रणालीबाट मुद्दाको पेसी तोक्दा प्रधानन्यायाधीशले चाहेको इजलासमा मुद्दा पर्ने छैनन् भने प्रधानन्यायाधीशले मुद्दा आफूले चाहेको समयमा स्थगित गर्ने, आफूले चाहेका मुद्दामात्रै आफू खुसी न्यायाधीशको इजलासमा पार्ने गरेको आरोप लाग्दै आएको छ ।







