
काठमाडौं, हिन्दु धर्मावलम्बीहरुले साउन महिनाको देवदिदेव महादेवको पुजा आरधनासहित गोदान, पुर्णपात्र गरि व्रत समापन गरेका छन भने साउन महिना र सोमबारलाई शिबजिको महिना भनेर धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
हिन्दु आस्थाअनुसार साउनको सोमबार जलले स्नान मात्र गरे पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने गरेका छन् । साउनको सबै सोमबार व्रत गर्नेले अन्तिम सोमबार बेलुकी वा मङ्गलबार बिहान विधिपूर्वक गोदान एवं पूर्ण पात्र गरी व्रत समापन गर्ने प्रचलन छ ।
यस वर्ष साउन ५, १२, १९ र २६ गते गरी चार वटा सोमबार परेकामा हिजो अन्तिम सोमबार व्रत विधिपूर्वक समापन गरिएको छ । नयाँ व्रत शुरु गर्ने पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भनी लोकमा गरिने व्यवहारमा शास्त्रीय मत नमिल्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष अध्यक्षले जानकारी दिनुभयो । शास्त्रीय मान्यताअनुसार चार वटा सोमबार परेको वर्षबाट पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।
भोलेनाथ काँवरिया सङ्घ, बोल बम काँवरिया सङ्घलगायत संस्थाले यस वर्ष बोल बम काँवर यात्रा स्थगित गरेका थिए । कतिपयले वर्षमा एकपटक साउन महिनामा घरमा वैदिक रुद्राभिषेक समेत गर्ने परम्परा छ । साउनमा विशेष भीड लाग्ने पशुपतिनाथ मन्दिरलगायत ठूला शिवालय यस वर्ष कोरोनाको त्रासका कारण बन्द गरिएको छ । भक्तजनले भने बन्द रहेको पशुपति मन्दिर परिसरबाटै दर्शन गरेका छन् ।





