
काठमाडौं, इजरायलको रोजगारीमा जानका लागि छनोट भएका श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।
इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिकका लागि परीक्षा दिएर गोला प्रथाद्वारा अन्तिमपटक छनोट भएका उम्मेदवारलाई प्रमाणपत्र पेस गर्न आग्रह गर्दै विभागले आइतबार सूचना सार्वजानिक गरेको हो ।
प्रहरी चारित्रिक प्रमाणपत्रका लागि विभागको इमेलमार्फत अनलाइन आवेदन गर्न आग्रह गरिएको विभागले जनाएको छ । आवेदनपछि प्राप्त प्रमाण विभागको इमेलमा मङ्सिर ५ गतेभित्र पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ ।
स्वास्थ्य परीक्षण प्रमाणका लागि ललितपुरका स्टार, नेपाल मेडिसिटी हस्पिटल, काठमाडौँका ह्याम्स र मनमोहन मेडिकल कलेजमा सम्पर्क गर्न आग्रह गरिएको छ । विभागका अनुसार स्वास्थ्य परीक्षण कात्तिक २९ देखि मङ्सिर ५ गतेभित्र गरिसक्नु पर्नेछ ।







