
काठमाडौं, अर्थमन्त्री जनार्दन शर्माले पत्रकारितासँग सम्बन्धित संघ, संगठनहरुलाई स्वतन्त्रतापूर्वक अघि बढ्न आग्रह गरेका छन् । प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई शनिबार पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री शर्माले राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनताको रक्षा गर्दै समाजवादतिर अगाडि बढ्ने संवैधानिक अधिकारलाई स्थापित गर्ने कुरानै सबै पत्रकारहरु र पत्रकारहरुसँग आवद्ध संघ, संगठनहरुको दायित्व भएको पनि बताएका हुन् ।
उनले भने, ‘पत्रकार र त्यसका संगठनहरु स्वतन्त्रतापूर्वक अगाडि बढनु हुनेछ भन्ने मैले अपेक्षा गरेको छु । परिवर्तनबाट प्राप्त भएको उपलब्धि समाजवादतिर अगाडि बढने संवैधानिक अधिकार जो छ, त्यो संवैधानिक अधिकार राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनताको रक्षा गर्दै हामी समाजवादतिर अगाडि बढने मान्यतालाई स्थापित गर्ने कुरा नै प्रेस सेन्टर र समस्त पत्रकारहरुको दायित्व हो भन्ने कुरा म यहाँ राख्न चाहन्छु । त्यसको लागि कस्तो संगठन आवश्यक छ ? कस्तो विचार आवश्यक छ ? लोकतन्त्रको पक्षमा उभिएका प्रेस सेन्टर मात्रै होइन्, अन्य संगठनहरुले पनि लोकतन्त्रको पक्षमा गरेको संघर्ष, त्यो योगदान र बलिदानलाई हामीले त्यही रुपमा सम्मान गर्नु पर्दछ । ती सबै लोकतन्त्रको पक्षमा उभिन पत्रकारहरुका सबै संगठनहरुलाई पनि सम्मान गर्न चाहन्छु ।’







