
काठमाडौं, लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।
पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा जुटेका हुन् ।
आज बिहान स्नान गरी दिनभरि व्रत बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई बर्तालुले त्यही खिर खाने गर्दछन् । यस विधिलाई नै ‘खरना’ भनिएको हो ।
श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर साँझ चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खिर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् । आज दिनभर उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्दैछन् ।
पर्वको चौथो दिन भोलि बुधबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका बर्तालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् ।







