December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’

मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि आइतबार नै सुरु गरेका हुन् ।

निरामिष (साविक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रत विधि सुरु हुने पर्व परम्परा छ । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । कोरोना सङ्क्रमण अलि मत्थर भएपछि यसपालि धक खोलेर पर्व मनाउन पाइएको व्रतालुको भनाइ छ । गत वर्ष कोरोना सन्त्रासले घरआँगनमै छठ मनाउनुपरेको सम्झना गर्दै यसपालि भने महाव्याधि कम भएपछि पर्व मनाउन सहज भएको व्रतालु बताउँछन् ।

छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला÷पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेका देखिन्छ । पर्व सुरु भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन व्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनितो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ । पर्वले घरघरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन् ।

श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ ।

यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषिउपजले राम्रो बजार पाउने गरेका छन् ।

आइतबार (कात्तिक शुक्ल तृतीया) का दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठी देवीलाई चढाएर प्रसादस्वरुप खानेछन् ।

यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा पसेर नुहाएसँगै अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ ।

यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।

मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर व्रतालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् ।

केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनिसकेको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् । जनजन परिचालित हुने यो पर्व मिथिला संस्कृतिको अभिन्न अङ्गका रुपमा स्थापित भएको देखिन्छ ।rss

शीर्ष समाचार

धेरै पढिएको