March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

पहिलो महिला मुख्यमन्त्रीको सत्ता यात्रामा पूर्णविराम

मकवानपुर, कार्तिक ११ । नेपालकै पहिलो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार बुधबार ढलेको छ । ७१ दिनअघि एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्य नेतृत्वको सरकार एमाले विभाजनसँगै ढलेको हो । एमाले विभाजनपछि १३ सांसदले एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी थिइन् ।

५६ सांसदसहित मुख्यमन्त्री चयन भएकी शाक्यसँग एमाले विभाजनपछि ४३ सांसद मात्र बाँकी थियो । १ सय ९ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५५ सांसद चाहिन्थ्यो ।

आफू नेतृत्वको सरकार ढलेसँगै कुनै बेला चारवटा प्रदेशमा मुख्यमन्त्री रहेको एमालेसँग अब प्रदेश १ को मात्रै मुख्यमन्त्री बाँकी छ । एमालेले प्रदेश १ को मुख्यमन्त्री पनि गुमाउने निश्चितप्रायः छ । अब एमाले प्रदेशमा मुख्यमन्त्रीविहीन बन्ने दिन नजिकिँदै छ । गण्डकी र लुम्बिनी प्रदेशमा यसअघि नै एमाले नेतृत्वसको सरकार ढलिसकेको छ ।

विश्वासको मत पाउने निश्चित नभएपछि बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले बुधबार राजीनामा दिएकी हुन् । बुधबार नै उनको राजीनामा स्वीकृत भइसकेको छ । एमालेले डोरमणि पौडेललाई मुख्यमन्त्रीबाट राजीनामा गराएर शाक्यलाई मुख्यमन्त्री बनाएको थियो ।

तत्कालीन समयमा माधवकुमार नेपाल निकट मानिने उनी मुख्यमन्त्री पाउने भएपछि नेपाल समूह छाडेर एमालेमै बसेकी थिइन् । उनले २ भदौमा मुख्यमन्त्रीको शपथ लिएकी थिइन् । अल्पमतमा परेपछि शाक्यले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेकी थिइन् । त्यसलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएकी थिइन् । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको