June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने ओलीको माग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र चारजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । एमालेको पालिका तहको अधिवेशन उदघाटन गर्दै ओलीले हिजो परमादेश जारी गर्ने न्यायाधीशहरु अहिले पोल खोलाखोलमा लागेको टिप्पणी समेत गरे ।

न्यायाधीशहरुको गतिविधिले जनताप्रति अदालतप्रति भरोसा टुटेको बताए । ‘राष्ट्रपतिलाई परमादेश जारी गर्नेहरु अहिले पोल खोलाखोल गर्नुहुँदैछ,’ ओलीले प्रश्न गरे,’ पाकिस्तानी शैलीमा तपाईंहरु पाँचैजनाले सर्वसम्मतिका आधारमा परमादेश गर्नुभएको होला । एकजनाले किन पाँचैजनाले राजीनामा गरे हुन्नँ ?’

प्रतिनिधि सभाको पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश २८ असारमा संवैधानिक इजलासले जारी गरेको थियो । उक्त इजलास प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा गठन भएको थियो । जसमा न्यायाधीशहरु दिपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई थिए । ओलीले जबराले मात्र नभएर पाँचैजनाले राजीनामा दिनुपर्ने बताए ।

जनताको समस्याका मुद्दा पेन्डिङमा राखिएको र नक्कली मुद्दाहरु खडा गर्ने गतिविधि भइरहेको टिप्पणी गरे । बारले र अधिवक्ताले इजलास गठन गर्ने अभ्यासहरु भइरहेका छन्, ओलीले भने । राष्ट्रपतिलाई यति घन्टाभित्र प्रधानमन्त्री बनाउनुपर्छ भनेर परमादेश जारी गरेको भन्दै राष्ट्रपतिमाथि धावा बोलिएको बताए ।

ओली सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध पनि खनिए । उनले सभामुखमाथि एमालेविरुद्ध नाङ्गो षड्यन्त्रमा लागेको आरोप लगाए ।

शीर्ष समाचार

धेरै पढिएको