
काठमाडौं, गएको चैत ११ गते बन्द भएको लामो दुरिको सवारी र हवाई उडान भदौ १ गतेबाट खुल्ने भनि सरकारले अघिल्लो निर्णय गरेको थियो तर अब नखुल्ने बताइएको छ । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर, सिसिएमसिको आइतबार बसेको बैठकले भदौ १ बाट खुल्ने भएको उक्त सेवा नखुल्ने भन्दै थप १५ दिनका लागि स्थगित गर्ने प्रस्ताव गरेको छ ।
सिसिएमसीको यस प्रस्तावमा अब नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गर्नेछ । मन्त्रिपरिषद्को यही साउन ५ गतेको बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।
पछिल्ला केही दिनहरुमा देशभर र काठमाडौँमा पनि कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भदौ १ गतेबाट खुला गर्ने भनिएको सबै क्षेत्र भदौ १५ सम्म नखोल्ने प्रस्ताव तयार पारेको छ । बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्न प्रस्ताव गरेको छ ।





