
पाँचथर, तीन दिनसम्म निरन्तर चलेको हावाहुरीले मकैका बोट भाँच्दा पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रको मकैखेतीमा क्षति पुगेको छ । यही साउन १८ देखि २१ गतेसम्म निरन्तर हावाहुरी चलेको थियो । वर्षापछि हावाहुरी चल्दा यी स्थानमा लगाइएको मकैका बोट भाँचिएको छ।
हावाहुरीबाट फालेलुङको वडा नं ३, ४, ५ र ६ को ठूलो क्षेत्र तथा वडा नं २ र ७ का केही स्थानमा लगाइएको मकैमा क्षति पुगेको छ । गाउँपालिका अध्यक्षका अनुसार गत २१ गते आएको हावाहुरीले सबैभन्दा वढी क्षति पु¥याएको हो । “तीन दिन निरन्तर हावा चल्दा कलिलो मकै केही बाँकी राखेन”, उहाँले भन्नुभयो, “मकैका बोट कि भाँचिएका छन् कि त सोत्तर भएर लडेका छन् ।” हावाहुरीले फालेलुङ–४ का महभिर, गैरीगाउँ, भैँसे, चेम्फुवा, खुर्बुक, चित्रे, फोक्टे, लाफे, तालखर्कलगायत टोल तथा वडा नं ५ का खेदोक, लुहुदिनलगायत टोलमा लगाइएको मकैखेतीमा अत्यधिक क्षति पु¥याएको उहाँले जानकारी दिएका छन । गाउँपालिकाले प्राविधिक र सुरक्षाकर्मीसमेत लिएर अनुगमन थालेको अध्यक्षले बताएका छन ।





