March 19, 2024, Tuesday
२०८० चैत्र ६, मंगलवार

दसैँको टीकाको साइत १०:०२ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले असोज २९ गते शुक्रबार विजय दशमी पर्वको दिन बिहान १० बजेर २ मिनेटमा टीकाको साइत परेको जानकारी दिएको हो ।

समितिका अनुसार टीका लगाउने मानिस पूर्व फर्कनुपर्नेछ भने टीका लगाइमाग्ने मानिस पश्चिम फर्किनुपर्नेछ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

यसैगरी, समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गर्दै असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको जानकारी दिएको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

असोज २२ गते शुक्रबार झन्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झन्डा फेर्नुपर्ने छ। असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मंगलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने समितिले जनाएको छ ।

फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७ः११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।

असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजया दशमीका दिन बिहान ७ः०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिनेछ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै वलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

शीर्ष समाचार

धेरै पढिएको