October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

१९ वर्षअघिको बमको छर्राले रोगी बनायो : सुनाका पीडा

दैलेख, असोज ९ । दैलेख नौमुले गाउँपालिका–३ जैशीडाडाँकी सुना सुनार हेर्दा सामान्य देखिन्छिन् । तर, उनले भोगेको पीडासुन्दा जोकसैको आङै सिरिंग हुन्छ । २१ साउन २०५९ मा सुना र उनका श्रीमान् भैंसीलाई घाँस काट्न मकै बारीमा गएका थिए । नौमुले तत्कालीन माओवादीको हेडक्वाटर मानिन्थ्यो उनीहरूको उपस्थिति बाक्लो थियो ।

माओवादीले जैशीडाँडामा कार्यक्रम गर्दै थिए । तत्कालीन शाही नेपाली सेनाको हेलिकोप्टर पुग्यो र आकाशबाट अन्धाधुन्धा बम खसाल्न थाल्यो । घाँस काट्दै गरेका सुनाका दम्पती बम लागेर घाइते भए । मकै बारीमै ढले । माओवादीले तत्कालै उनीहरूको प्राथमिक उपचार गरे तर सन्चो भएन ।

गाउँमा केही ऋण खोजेर थप उपचारको लागि सुनाका श्रीमान् र आफन्तले सुनालाई दैलेख सदरमुकाम हुँदै नेपालगन्ज पु¥याए । तर, उनको उपचार हुन सकेन । कारण थियो, सुना सात महिने गर्भवती थिइन् ।

सामान्य औषधि उपचारपछि सुना घाइते शरीर लिएर गाउँ फर्किइन । गाउँमै छोरी जन्माइन् । अहिले छोरी लालसरा सुनार १८ वर्षकी भइन् । सुना भने घाइते शरीरले बालबच्चाको हेरचाह गरिहेकी छन् । अझै पनि उनको शरीरमा रहेको बमको छर्रा निकालिएको छैन ।

घरको आर्थिक अवस्था कमजोर भएकाले पीडा खेप्नुबाहेक अर्को विकल्प नरहेको पीडित परिवारको दुःखेसो छ । ‘हामी गरिब भयौं हामीलाई कसैले हेरेन । उपचार गर्न जाऊँ भने घरमा खाने खर्च छैन ।’ उनी भन्छिन् ‘अठार वर्षदेखि शरीरमा घाउ पालेर बसेकी छु ।’

बमको छर्राका कारण अहिले लालसरा सुनारसमेत बिरामी छन् । जन्मेको लामो समयसम्म उनी उभिन सकिनन् । रिंगटा लाग्छ । श्वासप्रश्वासमा समस्या छ । श्वास फेर्न गाह्रो हुन्छ । तर, लालसरा बाँच्न चाहन्छिन्, ‘बुढो बा र घाइते आमाको बिसन्चो शरीरको साथमा बसेर जेनतन भाइबहिनी पालेको छु ।’ छोरी लालसराले भनिन् ‘मेरो र आमाको उपचार कसैले गरिदिए भाइबहिनीलाई पढाएर जागिर खुवाउने थिएँ ।’अहिलेसम्म सुनाले कतैबाट पनि राहत रकम पाएकी छैनन् । उराजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको