
नेपाल प्रहरीमा तालीममार्फत दक्ष जनशक्ति तयार गर्ने दृष्टिकोणले महत्वपूर्ण निकाय मानिने प्रहरी युक्ति तालीम महाविद्यालय पछिल्लोपटक तालीम केन्द्रका रुपमा व्यवस्थित बन्दै गएको छ । विसं २०६४ मा प्रहरी प्रधान कार्यालयमा सानो संरचनामा स्थापना भएको यस महाविद्यालय विसं २०७२ मा नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम) सुनवल ११ जर्गाहमा प्रहरी युक्ति तालीम महाविद्यालयको रुपमा स्थानान्तरण भएको थियो ।
युद्धकलासम्बन्धी तालीम केन्द्रको रुपमा विकास गर्दै लगिएको यस महाविद्यालयले यसअगावै गुरुयोजना तयार गरी महाविद्यालयमा आवश्यकताअनुसार जस्तोसुकै तालीम सञ्चालन गर्न सक्ने गरी कार्य योजनाअनुसार तालीम केन्द्रको रुपमा रहँदै आएको छ । कूल ७४ बिघा क्षेत्रफलमा रहेको महाविद्यालयमा नेपाल प्रहरीको महत्वपूर्ण विविध १२ विधामा आवश्यकताअनुसार प्रहरी जवानदेखि प्रहरी अधिकृतसम्मलाई तालीम दिने एकमात्र तालीम केन्द्रको रुपमा रहँदै आएको छ । महाविद्यालयले तालीम केन्द्रको रुपमा नेपाल प्रहरीमा दक्ष जनशक्ति तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको महाविद्यालयका प्राचार्य एवं वरिष्ठ प्रहरी उपरीक्षक बताउनुहुन्छ । न्यूनतम १८ दिनदेखि अधिकतम तीन महिनाको समयावधिसम्म महाविद्यालयमा विविध विधाको तालीम सञ्चालन हुने गर्दछ ।
उक्त महाविद्यालयमा प्रहरी विशेष कला कारवाही (कमाण्डो), हतियार ह्याण्डलिङ, विष्फोटक पदार्थ, फायरिङ रेन्ज तालीम, नक्सा अध्ययन, विशिष्ट व्यक्तिको सुरक्षा, अङ्गरक्षक सुरक्षा, भीड नियन्त्रण, प्रहरी निरीक्षक आधारभूत, प्रहरी जवान आधारभूत, प्रहरी युक्ति कारवाही चरण, प्रहरी सहायक निरीक्षक आधारभूत, प्रहरी युक्ति तथा कारवाही रिफ्रेसरसहित विविध १२ विधामा तालीम सञ्चालन हुने गर्दछ ।





