
काठमाडौं, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालू आर्थिक वर्ष २०७७/७८ का लागि रु ४१ अर्ब ११ करोड तीन लाख बजेट बिनियोजन गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको चालू आवको बजेट तथा नीति कार्यक्रममा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता दिइएको छ ।
प्राधिकरणले अघिल्लो बर्ष २०७६/७७ का लागि रु ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार बजेट विनियोजन गरेको थियो भने यसपटक कोरोना भाइरसको कारणले विमानस्थलको आयमा ह्रास आएकोले प्राधिकरणले चालू आर्थिक बर्षको तुलनामा केही कम बजेट विनियोजन गरेको छ ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यसपटकको बजेटमा गत बर्षजस्तो नयाँ योजना नभएको र उक्त विमानस्थललाई निर्माणाधीन प्राथमिकता राखेर बजेट विनियोजन गरेको बताएका छन । प्राधिकरणले संस्थागत सुधार, विमानस्थल विकास तथा स्तरोन्नति, सञ्चार उपकरण, सुरक्षित मौसमी उडानका उपकरण जडान, अन्तर्राष्ट्रिय विमानस्थल जनशक्तिलाई ध्यानमा राखी बजेट सार्वजनिक गरिएको छ ।







