September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

काठमाडौंको फोहोर उठ्न कम्तीमा एक हप्ता लाग्ने

काठमाडौं, १८ दिनदेखि रोकिएको सबै फोहर उठ्नका लागि कम्तीमा पनि एक हप्ता लाग्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

कामपासहित काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा विगत १८ दिनदेखि रोकिएको फोहर बुधबारबाट व्यस्थापन गर्न थालिएको भए पनि मौसमले साथ दिए सबै फोहर उठ्न करिब एक हप्ता लाग्ने बताइएको छ ।

यसअघि मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, वरिष्ठ प्रहरी उपरीक्षकलगायतको बैठकले फोहर उठाउने निर्णय गरेको थियो ।

नगर प्रमुख विद्यासुन्दर शाक्यले फोहर व्यवस्थापन गर्ने जिम्मेवारी कामपाको मात्रै नभई सम्पूर्णको समस्या रहेको भन्दै त्यसको सकारात्मक समाधानका लागि सबैतिरबाट अपेक्षा गरेको बताए ।

विगत १८ दिनदेखि सिसडोलका स्थानीयवासीले अवरोध गर्दा र नियमित पानी परिरहँदा जाने बाटो बिग्रिएको भन्दै फोहर उठ्न सकेको थिएन । सिसडोलसम्म जानका लागि बाटो मर्मतको काम सडक विभागले तत्काल गर्ने र सिसडोलका स्थानीय व्यक्तिका समस्याका विषय पनि समाधान गरिने भएपछि आजदेखि फोहर व्यवस्थापन हुन थालेको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

लामो समयसम्म फोहर उठ्न नसकेकाले करिब १५ हजार मेट्रिकटन फोहर जम्मा भएको पनि वातावरण विभागले जानकारी गराएको छ ।

शीर्ष समाचार

धेरै पढिएको