April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

बाढी पहिरोका कारण देशभरका दर्जन भन्दा बढी सडक बन्द

file photo

काठमाडौं, लगातारको वर्षाका कारण पछिल्लो पाँच दिनमा देशभरका दर्जन बढी सडक सञ्जाल बन्द भएका छन् । गत जेठ ३० गतेपछि देशका विभिन्न सडकको दुई सय चार वटा ठाउँमा बन्द भएकोमा १६ ठाउँमा अझै अवरोध रहेको छ ।

सडक विभागका अनुसार एक सय १७ ठाउँको सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ भने ६८ ठाउँको सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । निरन्तरको वर्षासँगै सडकमा पहिरोको जोखिम बढेकाले सचेतता पुर्वक यात्रा गर्न सडक विभागले आग्रह समेत गरेको छ ।

काठमाण्डौ उपत्यकाबाट हेटौँडा जाने कान्ति लोकपथ सडकअन्तर्गत भट्टेडाँडामा पहिरो जाँदा उक्त खण्ड अवरुद्ध छ । चन्द्रागिरि नगरपालिकाको चिसापानीमा बन्द भएको पृथ्वी राजमार्ग भने खुलेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोककै मेलम्ची–जिरोकिलो सडक पनि बन्द छ । साथै बेसीसहर–चामे सडक अन्तर्गत मनाङ खण्ड र स्याङ्जाको गल्याङमा सिद्धार्थ राजमार्ग बन्द छन् । बेनी–जोमसोम सडक खण्डको म्याग्दी र मुस्ताङका तीन ठाउँमा सडक बन्द छ ।

यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ थिङडाँडामा पहिरो जाँदा कुलेखानी–सिस्नेरी–काठमाण्डौ सडक बन्द छ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हसेली तुवाचुङमा पनि पहिरोले सडक बन्द छ ।

यता सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका लिपिङमा अरनीको राजमार्गको अवरोध अझै हटेको छैन । पाल्पाको तानसेनमा रहेको डुम्रे र गौडेपुलमा सिद्धार्थ राजमार्ग बन्द रहेको छ । प्युठानको चोरनेटामा पहिरो जाँदा भालुवाङ–प्युठान सडक खण्ड बन्द छ ।

यस्तै कर्णाली राजमार्ग अन्तर्गत कालीकोट र दैलेख जिल्लामा सडक बन्द भएको छ । पहिरोले अवरुद्ध बाजुराको साँफे–मार्तडी सडक मर्मत भइरहेको सडक विभागले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको