September 26, 2021, Sunday
२०७८ आश्विन ११, सोमबार

‘भगवान भरोसा’ मा काँग्रेसका हस्ती

काठमाडौं, ११ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही वर्षयता यज्ञ र पूजामा समय बढी खर्चिएका छन् । बुढानिलकण्ठमै उनले यज्ञ आयोजना गरे । त्यसपछि विशेष पूजा पनि चल्दै आएको छ ।

देउवा हिन्दु धर्मप्रति आस्था राख्छन् भन्ने सन्देश दिने गरी आरजु देउवाले तस्बिर पनि सार्वजनिक गरिरहन्छिन् । तस्बिरमा गेरु वस्त्रमा फूलमाला लगाएका देउवा देखिन्छन् । त्यसो त हिन्दुत्वको मुद्दा बोकेको भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई रक्षाबन्धनका दिन आरजु देउवाले बालुवाटारमा राखी बाँधेर स्वागत गरिन् ।

आज नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विहानै शक्तिपीठका पूजारीहरुबाट आशिष लिए । पशुपतिनाथ, जानकी, डोलेश्वरलगायत शक्तिपीठका गुरुहरुको आशिष लिएर बानेश्वरमा सम्पर्क कार्यालय सुरु गरेका छन् । काँग्रेस महाधिवेशनमा सभापतिका दाबेदार निधि पछिल्लो समय हिन्दु धर्मप्रति आस्थावान रहेको सन्देश दिइरहेका छन् ।

विगतमा धर्मनीरपेक्षको पक्षमा जोडतोडले बोल्दा भक्तपुरमा आफ्नै कार्यकर्ताले निधिलाई घेरेका थिए । त्यसपछि धर्मनीरपेक्षबारे उनी बोल्न कम गरेका छन् । पछिल्लो समय उनको यु टर्न देखिएको छ । निधिले चौथाइवालेसँग भेटेपछि धेरै व्यवहार परिवर्तन हुन थालेको छ ।

काँग्रेस महामन्त्री डा. सशांक कोइरालाले हिन्दु राष्ट्रको पक्षमा विगतमा बोलेका थिए । तर, अहिले उनी केही फरक भएका छन् । विगतमा कोइरालाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेको तस्बिर सार्वजनिक भएको थियो । हिन्दुत्वमा आस्था राख्ने धर्मगुरु योगीसँगको भेट अर्थपूर्ण थियो ।

काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि धर्मको मुद्दा बेला बेलामा उठाउने गरेका छन् । प्रकाशमान सिंहले पनि दक्षिणकाली मन्दिरको विशेष पूजा गरेको तस्बिर सार्वजनिक भएको थियो । यसरी काँग्रेस नेताहरु महाधिवेशन नजिकिदै गर्दा धर्मप्रति आस्थाको सन्देश दिइरहेका छन् । उनीहरुले हिन्दुत्वको मुद्दाप्रति सकारात्मक रहेको सन्देश पनि दिन खोजेको देखिदैछ ।

काँग्रेसभित्र हिन्दुत्वका पक्षधर कार्यकर्ताको संख्या उल्लेख्य छ । विगतमा बहुमत महाधिवेशन प्रतिनिधिले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर नै गरेका थिए । हिन्दुत्वको पक्षधर कार्यकर्ता ठूलो संख्यामा रहेकाले उनीहरुको साथ लिन पनि नेताहरुले सन्देश दिइरहेका छन् । अर्कोतर्फ, भारतमा भारतीय जनता पार्टी सत्तामा रहेकाले नेताहरुले साथ पाउन खोजेको देखिदैछ । त्यसका लागि पनि हिन्दुत्वप्रति सकारात्मक रहेको सन्देश दिन खोजिरहेका छन् ।

काँग्रेसका हस्तीहरुले भगवानप्रति भरोसा बढेको सन्देश प्रवाह भइरहेको छ । धार्मिक गतिविधिमार्फत् राजनीतिक ऊर्जा हासिल गर्न खोजिरहेको देखिन्छ ।repoters nepal

शीर्ष समाचार

धेरै पढिएको