September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

उद्धारमा गएको हेलिकप्टर समयमा नपुग्दा सुत्केरीको मृत्यु

गोरखामा एक सुत्केरीको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २५ वर्षीया हिसे डोमा लामाको समयमा उद्धार हुन नसक्दा बिहीबार मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिए ।

उद्धारका लागि गएको हेलिकप्टर नपुग्दै उनको मृत्यु भएको उनले बताए । बुधबार राति सुत्केरी भएकी लामाको सालनाल नझरेपछि हेलिकप्टरमार्फत उद्धारका लागि गाउँपालिकाले बिहीबार करिब १२ः ३० जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । सुत्केरीको उद्धारका लागि महिला, बालबालिका तथा जनसङ्ख्या मन्त्रालयले करिब ३ बजे नेपाली सेनाको हेलिकप्टर पठाएको थियो । तर हेलिकप्टर नपुग्दै उनको मृत्यु भएको उपाध्यक्ष गुरुङले बताए ।

उद्धार प्रक्रिया पनि झन्झटिलो भएकाले समयमा हेलिकप्टर झिकाउन नसकिएको उनको भनाइ छ । “प्रक्रिया पूरा गर्दैमा चार घण्टा जति बित्यो होला”, उनले भने, “सबै निकायबाट जतिसक्दो छिटो प्रयास गरेको भए पनि सुत्केरी बचाउन सकिएन ।” बाक्लो हुस्सुका कारण मन्त्रालयले पठाएको हेलिकोप्टरसमेत अवतरण गर्न समस्या भएकाले पनि उद्धारमा थप ढिलाइ हुँदा सुत्केरीको ज्यान गएको उनको भनाइ छ ।

सडक सञ्जालसँग नजोडिएको उत्तरी गोरखाको सो गाउँपालिकामा प्रसव व्यथा लागेका महिलालाई हेलिकप्टरमार्फत सुत्केरी गराउन काठमाडौँ पठाउनुको अर्को विकल्प छैन ।

शीर्ष समाचार

धेरै पढिएको