September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

कालोबजारी र गुणस्तरहिन खाद्य सामग्री बिक्री गर्नेलाई कडा कारवाही गर्न निर्देशन

काठमाडौं, प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले कालोबजारी गर्नेलाई कडा कारवाही गर्न सरकालाई निर्देशन दिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितमा बिहिवार बसेको समितिको बैठकले चाडपर्वका समयमा अत्याधिक उपभोग हुने दैनिक उपभोग्य सामग्रीको अस्वभाविक मूल्यवृद्धि, कालोबजारी तथा जनस्वास्थ्यलाई खेलवाड गर्ने र गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गर्नेविरुद्ध कडा कारवाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

उक्त बैठकले म्याद सकिएका अखाद्य वस्तु, पुनःमिति राखी बिक्री वितरण गर्नेलगायत गैर कानुनीकार्य नियन्त्रणका लागि अन्य सरकारी निकायको समन्वयमा बजार अनुगमन गर्न पनि आग्रह गरेको छ ।

यसैगरी यस्ता कार्यमा दोषी देखिएकालाई कारवाहीको दायरामा ल्याउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति शशी श्रेष्ठका अनुसार आवश्यक परे कानुन संशोधन गरेरै भए पनि कारवाहीको दायरामा ल्याउन भनेको छ ।

यसैगरी उक्त बैठकले दार्चुला ब्यास गाउँपालिका–२ का तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका जयसिंह धामी घटना प्रकरणमा समितिको गम्भीर ध्यानाकर्षण भएको र सत्यतथ्यसहितको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न पनि निर्देशन दिएको छ ।

समितिले पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि आग्रह गरेको छ । त्यस क्षेत्रको स्थानीय बासिन्दाको सुरक्षाका साथै पुल, मोटरबाटोलगायत आवश्यक पूर्वाधारको यथाशीघ्र निर्माण गर्न पनि निर्देशन दिएको सभापति श्रेष्ठले भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको