
आजबाट सवारीसाधन फेरि जाेर बिजाेरका आधारमा सञ्चालन हुने भएको छ । काठमाडौं उपत्यका र सक्रिय कोरोना संक्रमित दुई सयभन्दा बढी भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनहरू जोर–बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्न पाइने भएको छ । जोर–बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्ने व्यवस्था गर्न सूचित गराएको छ ।
गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर संक्रमित दुई सयभन्दा बढी भएको जिल्लाका सहरी इलाकामा जिल्लाभित्र समेत बेलुका ९ बजेदेखि बिहान ६ बजेसम्म आवागमन बन्द गर्न पनि गृह मन्त्रालयले जानकारी गराएको छ । यस्तै, काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका अन्य सबै यात्रुबाहक सवारीसाधनहरूलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाइका साथ लागू गर्न पनि गृह मन्त्रालयले भनेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न/गराउन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ । यस्तै, नेपाल सरकारको निर्णयबमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमानाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्न, होटेल, रेस्टुरेन्टमा हुने सामूहिक भोज, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गर्न पनि गृह मन्त्रालयले भनेको छ ।

मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गर्ने, जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था भए सोको सञ्चालकसमेतलाई कारबाही गर्न पनि गृह मन्त्रालयले अनुरोध गरेको छ । कोरोना संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र, स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्न र कोरोनाको थप परीक्षणको व्यवस्था मिलाउनसमेत पर्नेछ ।





