
काठमाडौं, श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ । धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर सो पर्व मनाउने गरिन्छ ।
नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । यसैगरी अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ।वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मान्ने गरिन्छ ।







