December 6, 2021, Monday
२०७८ मंसिर २०, सोमबार

३७.८ प्रतिशतले बढ्यो नेपालको निर्यात

काठमाडौं, चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७।८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको छ । नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो भने गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४३.३ प्रतिशत र २५.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी, गलैँचालगायतका वस्तुको निर्यात बढेको छ भने पामतेल, दाल, जस्तापाता, तार, चोकरलगायतका वस्तुको निर्यात घटेको छ ।

यसैगरी चालु आवको ११ महिनामा कूल वस्तु आयात २५.७ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ८३ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५.३ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.२ प्रतिशत, २४।० प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको केन्द्रीय बैंकले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको