July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

सरकारले वैदेशिक रोजगारमा जानेलाई खोप दिइने

काठमाडौँ, असार २९ –सरकारले खोप अनिवार्य गरेका वैदेशिक रोजगार गन्तव्यमा जाने नेपाली श्रमिकका लागि खोप लगाउने भएको छ । चीनबाट हालै ल्याइएको खोप वितरणको प्राथमिकतामा उनीहरुलाई राखेको हो ।खोप मङ्गलबारदेखि दिइने बताइएको छ । त्यस्तै सार्वजनिक यातायातका चालक सहभालकलाई पनि खोप दिइने जनाइएको छ । खोप नपाउँदा वैदेशिक रोजगारीमा जानेहरु समस्यामा रहेका थिए ।

खाडी मुलुकहरुले खोप नलगाएका श्रमिकलाई १० दिन होटल क्वारेीनटनमा बस्नु पर्ने र खर्च पनि स्वयंले व्यहोर्नु पर्ने नियम बनाएका थिए ।कतारबाट घर बिदामा आउनुभएका बाग्लुुङका विशाल अधिकारीको कम्पनीले दिएको बिदा सकिएको एक महिना भइसक्दा पनि जान नपाएको बताउनुभयो । श्रमिक अधिकारीले भन्नुुभयो, “कतार गएर होटल क्वारेन्टाइनमा बसेको पैसा तिर्नसक्ने अवस्था छैन । त्यसैले सरकारले हामीजस्ता श्रमिकका लागि खोपको व्यवस्था गरिदिए हुन्थ्यो । ”
“स्वदेशमै केही गरौँ भने पनि लगानी गर्ने पैसा छैन । ऋण गरेर स्वदेशमै केही गरौँ भने पनि कसैले पत्याउँदैन,” अधिकारी भन्नुुभयो, “विदेश नगई उपाय नै छैन, नगए कसरी घर चलाउने र ? सरकारले हामीजस्ताका लागि जसरी पनि आएका खोपलाई प्राथमिकतामा राखेर खोप दिनुप-यो । ”
यस्तै संयुक्त अरब इमिरेट्सबाट घर बिदामा आउनुभएका कास्कीका कैलाश सिग्देल उडान खुलेलगत्तै जान पाइन्छ कि भनेर काठमाडौँमा आएर बसिरहनुभएको छ । यूएईले खोप नलगाउनेलाई प्रवेशमा रोक लगाएको छ । उहाँ भन्नुहुन्छ, “कति ठाउँमा बुझियो तर विदेश जानेका लागि खोप छैन भन्छन् । उताबाट कम्पनीले खोप नलगाई आउन पाइँदैन भनेको छ । ”

नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य मुुलुकले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएका छन् । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि नेपालका श्रम गन्तव्य मलेसिया, यूएई, कुवेतले नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेका छन् ।कम्पनीको बिदामा आएका पनि पहिले उडान बन्द भएर अहिले खोप नपाएर रोकिएका छन् । कुवेतले खोप लगाएका श्रमिक बिस्तारै लिने भनेको छ भने साउदी अरब, कतार, बहराइन र ओमानले भने क्वारेन्टाइनमा बने सर्तमा श्रमिक लिइरहेका छन् । यूएईले आफूले मान्यता दिइएको खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने भनेको छ तर अहिले त यूएईले नेपाललाई प्रतिबन्ध नै लगाएको छ ।

ओमान र बहराइनले पनि अहिले नयाँ भिसा जारी गरेका छैनन् । ओमानको आवासीय भिसा भएका श्रमिक सात दिन क्वारेन्टाइनमा बस्ने गरी जान पाउँछन् । पछिल्लो समयमा चीन र अमेरिकाबाट खोप आएको छ । अन्य देशबाट पनि आउने भनिएको छ । सरकारले जुलाईभरमा चीनबाट तीन चरणमा कोभिड–१९ विरुद्धको खोप ल्याउने बताएको छ तर वैदेशिक रोजगारीमा जानेलाई भने सरकारले अहिले पनि प्राथमिकतामा राखेको छैन ।


चीनबाट आएको र भेरोसेल खोप लगाउने पहिलो प्राथमिकतामा सरकारले ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई राखेको छ भने अमेरिकाबाट आएको जोनसन एन्ड जोनसन खोप ५० देखि ५४ वर्षका नागरिकलाई प्राथमिकता दिने जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले अमेरिकाबाट आएको खोप एक डोज मात्रै लगाए हुने भएकाले यो खोप पहिलो प्राथमिकता विदेश जानेलाई प्राथमिकतामा पारौँ भन्नेमा मन्त्रालयको जोड रहेको बताउनुुभयो ।
श्रम मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा कृष्णगोपाल श्रेष्ठ रहनुभएकाले खोपमा विदेश जानेलाई प्राथमिकतामा पार्ने विषयमा सकारात्मक नै रहेको बताउनुुभयो ।
वैदेशिक रोजगारी जानेहरूले आफूहरूलाई खोप उपलब्ध गराउन माग गर्दै आएको भए पनि अहिले उनीहरूका बारेमा कुनै निर्णय नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अवस्था सामान्य हुन्थ्यो भने रोजगारीको खोजीमा दैनिक सरदर एक हजार मानिस विदेश उड्थे तर कोरोना महामारीले वैदेशिक रोजगारलाई थला परेको छ । गत वर्ष गन्तव्य देशहरू नै कोरोनाबाट नराम्रोसित प्रभावित भएका थिए । राष्ट्रिय योजना आयोगले अघिल्लो महिना सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७७ असारदेखि २०७८ वैशाखसम्म करिब साढे चार लाख नेपाली चार्टर उडान र उद्धार उडानमार्फत स्वदेश फर्किएका छन् ।

सो अध्ययनअनुसार पछिल्लो एक वर्षमा कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका चार लाख ४४ हजार ७९९ नेपाली रोजगारी गुमाएर स्वदेश फर्किएका छन् ।यता वैदेशिक रोजगार व्यवसायीहरूले पनि वैदेशिक रोजगारीमा जान्छु भन्ने सबैलाई खोप उपलब्ध गराउन नसके पनि श्रम स्वीकृति लिइसकेका श्रमिकलाई भने तत्काल प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् । गाेरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको