August 17, 2022, Wednesday
२०७९ भाद्र १, बुधबार

सोलु कोरिडोर प्रसारण लाइन निर्माण पुन सुरु

विगत तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका क्षेत्रमा रोकिएको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम पुनः सुरु भएको छ । कटारी नगरपालिका–४, मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधले प्रसारण लाइन निर्माणको काम रोकिएको थियो ।

मरुवावासीले सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आएका थिए । राष्ट्रिय गौरवकोे आयोजनामा सोलु कोरिडोर निर्माण क्षेत्रमा ऐलानी जग्गाको समेत मुआब्जा दिने भनी सूचना प्रकाशित गर्दा पनि स्थानीयले आयोजना निर्माणमा अवरोध गरिरहेकाले बिहीबार स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा काम सुरु गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी सीताराम सेढाईले जानकारी दिए ।

बुधबारदेखि नै टावर निर्माण स्थलमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । विगत ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सन् २०१६ सेप्टेम्बर २५ मा काम सुरु भएको सो आयोजनाको ३०२ वटा टावरमध्ये हालसम्म २९२ वटा निर्माण भइसकेका छन् ।स्थानीयवासीको अवरोधका कारण उदयपुरको मरुवामा निर्माण गर्नुपर्ने १० वटा टावरको निर्माण रोकिएको हो । थप गरिएको म्यादभित्रै बाँकी काम सम्पन्न गर्ने आयोजना प्रमुख जनार्दन शर्मा गौतमले बताए । यो समाचारगोरखापत्र दैनिकमा छ ।

शीर्ष समाचार

धेरै पढिएको