April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

आइपीयाे १० कित्ता हात नलागेपछि प्रधानमन्त्रीले जस्तै लगानीकर्ताले भन्न थाले‘त्यो पर्दैन’

करिव डेढ महिना अघि ‘त्यो पर्दैन’ भन्ने थेगो निकै लोकप्रिय भएको थियो। गत बैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिँदा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द दुई पटक उच्चारण गर्दा समेत प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भनेपछि उक्त शब्द सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत भाइरल बनेको थियो।

प्रधानमन्त्रीले त्यतिबेला भनेको उक्त शब्द अहिले पनि लगानीकर्ता बीच चर्चाको शिखरमा पुगेको छ। आइपीओ निष्काशन गरेका लघुवित्तको शेयर १० कित्ता पनि नपर्ने स्थिति देखिएपछि लगानीकर्ताले ‘त्यो पर्दैन’ भन्न थालेका छन्। शेयर नपर्ने निश्चित जस्तै हुन थालेपछि लगानीकर्ताहरु आइपीओमा आवेदन राख्नु पर्दैन भन्न थालेका हुन्। लघुवित्त कम्पनीहरुले थोरै कित्ता निष्काशन गर्ने तर उक्त शेयर प्राप्त गर्नका लागि लाखौंले आवेदन राख्न थालेपछि लगानीकर्ताले ‘त्यो कम्पनीको आइपीओ भर्न पर्दैन’ भन्न थालेका हुन्।

पछिल्लो समय आइपीओ निष्काशन गरेको मनकामना स्मार्ट लघुवित्तको आइपीमा करिव २० लाख ४० हजारले आवेदन दिएका छन्। उक्त लघुवित्तले ३ लाख ८९ हजार कित्ता शेयर सर्वसाधारणलाई १७ गतेदेखि २१ गतेसम्म निष्काशन गरेको थियो। मनकामना स्मार्ट लघुवित्तको १० कित्ता शेयर एकदमै कमले पाउने सम्भावना देखिएपछि लगानीकर्ताले ‘त्यो लघुवित्तको शेयर पर्दैन’ भन्न थालेका हुन्। यसैगरी, यसअघि आइपीओ शेयर निष्काशन गरेको जीवन लघुवित्तको शेयर पनि ज्यादै कमले मात्र पाउने देखिएको छ।

यस्तै हो भने बिहीबारदेखि आइपीओ निष्काशन गर्न लागेको युनियन लाइफ इन्स्यारेन्सको शेयर पनि कमैले पाउने अनुमान गर्न थालिएको छ। पछिल्लो समय १० कित्ता पनि हात नलाग्ने भएपछि प्रधानमन्त्रीले जस्तै लगानीकर्ताले पनि ‘त्यो पर्दैन’ भन्न थालेका छन्। यद्यपी, लघुवित्तको भन्दा युनियन लाइफको धेरै कित्ता शेयर बजारमा आउँदैछ। युनियन लाइफले ६४ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्दैछ। त्यतिधेरै कित्ता बजारमा आउँदा पनि लगानीकर्ताले १० कित्ता पनि पाउने हुन कि होइनन् भन्ने शंका उत्पन्न भएको छ। आइपीओ भर्दा मनग्य आम्दानी हुने भएपछि आम नागरिकहरु आइपीओ भर्न तिर लागेका कारण १० कित्ता पनि हात नलाग्ने अवस्था आएको हो।

खासगरी, नेपाल पुर्नबीमा कम्पनीको आइपीओ भरेका लगानीकर्ताले डेढ वर्षको अवधिमा नै एक कित्तामा नै करिव १६ सय रुपैयाँ नाफा कमाएपछि आइपीओ भर्नेको बाढी नै लाग्न पुगेको थियो। पछिल्लो समय गाँउ गाँउमा समेत शेयर भर्नुपर्छ र नाफा हुन्छ भन्ने भावनाको विकास भएका कारण आइपीओमा शेयर भर्नेको संख्या बढ्दै गएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए। ‘पहिला काठमाडौंको रिङरोड भित्र मात्र सीमित भएको शेयर बजार अहिले गाउँ-गाउँमा समेत विस्तार हुँदै गएको छ,’ उनले भने, ‘गाउँ-गाउँको सानो तिनो रकम पनि पूँजी निर्माणमा प्रयोग हुन थालेको छ।’ केही दिनअघि दोस्रो बजारमा शेयरको मूल्य बढेर नेप्से ३,००० हजार अंक माथि पुगेको थियो। तर, अहिले नेप्से केही घटेको छ। अहिले नेप्से २८२२ अंकको नजिक आइपुगेको छ।

एक वर्षअघि १२०० अंक नजिक रहेको नेप्से दोब्बरभन्दा बढीले माथि उक्लिएपछि शेयर बजारबाट मनग्य आम्दानी हुने देखेपछि दोस्रो बजारमा शेयर किनबेच गर्ने र प्राथमिक बजारमा शेयर भर्नेहरुको बाढी नै लाग्न पुगेको हो। यता, कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले गत बैशाख १६ गतेदेखि काठमाडौंलगायत अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको थियो। उक्त समयमा नेपाल धितोपत्र बोर्डले आइपीओ निष्काशन गर्न रोक लगाएको थियो। तर, निषेधाज्ञा खुकुलो भएसँगै आइपीओ निष्काशन गर्नेको चाप बढेको छ। निषेधाज्ञाको समयमा आइपीओ निष्काशन गर्न नपाएका कम्पनीहरु अहिले लाइनमा बसेर शेयर निष्काशन गर्न थालेका छन्।

जीवन विकास र मनकामना लघुवित्तले आइपीओ निष्काशन गरेपछि अब पालो युनियन लाइफको आएको छ। युनियन लाइफले २४ गतेदेखि २८ गतेसम्म आइपीओ निष्काशन गर्दैछ। नेस्डाे समृद्धि लघुवित्त र मानुसी लघुवित्त पनि आइपीओ निष्काशनको तयारीमा लागेका छन्। उनीहरुले पनि बोर्डमा आइपीओ निष्काशनका लागि निवेदन दिएका छन्। लघुवित्त र इन्स्योरेन्स कम्पनी बाहेक जलविद्युत कम्पनीहरु पनि आइपीओ निष्काशनका लागि लाइनमा बसेका छन्। तर, उक्त कम्पनीले आइपीओ निष्काशन गरेपनि धेरै आवेदकको हात खाली हुने सम्भावना देखिएको छ।

आइपीओमा १० कित्ता शेयर पाउनका लागि पनि ‘लटरी’ कै भर पर्नुपर्ने अवस्था आएको छ। लगानीकर्ता भने कुनै कम्पनीको १० कित्ता शेयर पनि हात नपर्ने भएपछि प्रधानमन्त्रीले भनेजस्तै ‘त्यो पर्दैन’ भन्न थालेका हुन्। आइपीओ भर्न तम्सेका पनि नभर्दा हुन्छ, ‘पर्दैन, किन भर्नु पर्यो?’ भन्न थालेका छन्।मेराे लगानिबाट

शीर्ष समाचार

धेरै पढिएको