September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

अमेरिका र नेपालबीच कूटनीतिक तवर भन्दा पनि नागरिकस्तरको सम्बन्ध सुदृढ

काठमाडौं, अमेरिकी सरकारले कोभिडविरुद्धको लडाइँमा नेपाललाई पुर्‍याएको सहयोगप्रति अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

शनिबार न्यूयोर्कमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय समितिको दशौँ वार्षिक साधारणसभा तथा पदस्थापन समारोहमा राजदूत खतिवडाले अमेरिका र नेपालबीच राजनीतिक र कूटनीतिक तवरको भन्दा पनि नागरिकस्तरको सम्बन्धसमेत सुदृढ रहेको स्मरण गर्दै नेपाली मूलका अमेरिकी नागरिकलाई त्यसमा थप योगदान गर्न अपिल गरेका छन् ।

सत्तरी वर्ष अगाडि नै अमेरिकीहरू नेपालमा गएर शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आयोजनामा स्वयंसेवी भावले गरेको सहयोग स्मरणीय रहेको उनले बताएका छन् ।

उनले गैर आवासीय सङ्घको भावनालाई सम्बोधन गर्दै नेपालको संविधानले आर्थिक,सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरेको बताए । ‘एक पटकको नेपाली सधैँका लागि नेपाली’ भन्ने भावनालाई सम्बोधन गर्दै संविधानमा गरिएको व्यवस्थाअनुसार एनआरएनको मुद्दा र अपेक्षलाई ऐनमार्फत सम्बोधन गरिने समेत उनको भनाइ थियो ।

यसैगरी अमेरिकामा रहेका नेपालीहरूले यहाँको मूलधारको राजनीतिमा समेत सहभागिता जनाएर निर्वाचित भई सेवा गर्ने अवसर पाउनु महत्वपूर्ण उपलब्धि भएकोप्रति राजदूत खतिवडाले खुशी व्यक्त गरे ।

शीर्ष समाचार

धेरै पढिएको