October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

दोलखामा कोभिड अस्पतालका डाक्टरमाथि हातपात

दोलखा– दोलखाको तामाकोसी गाउँपालिका वडा नम्वर ४ मालुमा सञ्चालनमा रहेको मालु कोभिड अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारी माथि शनिबार राति हातपात भएको छ ।

राति १२ बजे स्थानीय केही युवाहरुले मदिरा सेवन गरी अस्पताल प्रवेश गरी कोभिड अस्पतालमा कार्यरत डा. रोविस कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई हातपात गरेको वडा नम्वर ४ का वडा अध्यक्ष तामाकोसी गाउँपालिकाका प्रवक्ता होमबहादुर श्रेष्ठले जानकारी दिए । राति अस्पतालमा रहेका डाक्टर र कर्मचारीमाथि बिना कारण अस्पताल नजिकै होटलमा मदिरा सेवन गरी अस्पतालमा प्रवेश गरी हातपात भएको हो ।

गाउँपालिकाले सञ्चालन गरेको मालु कोभिड अस्पतालमा राति १२ बजेको मदिरा सेवन गरी अस्पताल परिसरमा प्रवेश गरेको अन्य विरामीको समेत उपचार गर्नको लागि दबाब दिँदै डाक्टर माथि हातपात भएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।

मदिरा सेवन गरी कोभिड अस्पतालको बन्द रहेको गेट नाघेर अस्पताल प्रवेश गरेका ती युवाहरुलाई अस्पतालमा कोरोनाको विरामी रहेको कारण अस्पताल भित्र प्रवेश नगर्न भनेको र केही समस्या भएमा आफूले कोभिडको विरामी भन्दा छुट्टै परीक्षण गराउने बताउँदा एक्कासी हातपात गरेको डा. कार्कीले बताए ।

राति एक्कासी अस्पतालको गेट नाघेर चार जनाको समूहभित्र पसी आफूहरुमाथि हातपात गर्न थाले पछि डाक्टर तथा कर्मचारीहरु भागेर बसेको डाक्टर कार्कीको भनाई छ । डाक्टरमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा दिएको छ ।

प्रहरीले तामाकोसी गाउँपालिका मालुका गोपाल तिमल्सिना, रोशन पोखरेल र विजुले नेपालीलाई नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र कानून अनुसार कारबाही गरिने दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए । ntv

शीर्ष समाचार

धेरै पढिएको