October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै रेलमार्ग लैजान चीनको सुझाव

काठमाडौं, १२ असार । नेपाल–चीनबीच बहुप्रतीक्षित रेलमार्गलाई सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ मार्ग लैजान चीनले सुझाव दिएको छ । परियोजनामा संलग्न एक इन्जिनियरले अन्य भू-भागबाट रेल लैजान कठिन रहेको बताउँदै यस्तो सुझाव दिएको हो । हङकङको चर्चित पत्रिका ‘साउथ चाइना मर्निङ पोस्ट’मा उल्लेख गरिएअनुसार ती इन्जिनियरले सगरमाथा क्षेत्र हुँदै नेपाल–चीन रेलमार्ग बनाउन सुझाएको हो ।

वातावरण संरक्षित क्षेत्रमा ठूला परियोजना निर्माण गर्न चिनियाँ कानूनले अनुमति नदिने उल्लेख छ । करिब ८ बिलियन अमेरिकी डलर लागत लाग्ने बताइएको उक्त रेलमार्गले नेपालको अर्थतन्त्र उकास्नमा प्रमुख भूमिका खेल्ने जनाइएको छ ।

चीनको स्थानीय अखबार रेलवे स्ट्रान्डड डिजाइनमा गत बुधबार प्रकाशित समाचारमा सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै बनाइने रेलमार्गमा ३० किलोमिटर लामो सुरुङ बनाउन सहमति जुटेको उल्लेख छ ।

उक्त रेलमार्गले नेपाली राजधानी काठमाडौंबाट सीमावर्ती सहर गैरुङ हुँदै तिब्बतको रिकाजे सहरलाई जोड्नेछ । ५१३ किलोमिटर लामो उक्त रेलमार्ग निर्माणमा ८.२७ बिलियन अमेरिकी डलर खर्च हुने बताइएको छ ।

सन् २०१६ मा नेपाल र चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत रेलमार्ग निर्माणमा सम्झौता गरेका थिए । सगरमाथा आधार शिविर हुँदै रेलमार्ग बनाउने प्रस्तावबारे काठमाडौंस्थित चिनियाँ दूतावासले कुनै प्रतिक्रिया जनाएको छैन ।-दृष्टिबाट

शीर्ष समाचार

धेरै पढिएको