June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

उदयपुरमा एकै परिवारका दुई छोरा र आमाको मृत्यु

उदयपुर, उदयपुरमा कोरोना संक्रमणबाट एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ ।कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको हो ।

यहीँ जेठ १५ गते ४५ वर्षीय साइँला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

होम आइसोलेशनमा नै उपचार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै कान्छा छोरा भने कोरोना उपचारपछि तीन दिनअघि बाँचेर घर फर्कन सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताएका छन् ।

यसरी एउटै घरका दुई छोरा र आमाको कोरोनाका कारण मृत्यु भएको जिल्लाकै पहिलो घटना भएको प्रमुख सुवेदीले बताए । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या आज बिहानसम्ममा ३७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको