July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

हिमाली क्षेत्रको नागरिकका लागि काल बन्दै यार्सागुम्बा

दार्चुला, दार्चुलाका हिमाली क्षेत्रका नागरिकको लागि आर्थिक स्रोतको बलियो आधार हो यार्सागुम्बा । सो क्षेत्रमा खेतबारीमा उब्जाएको अन्नले तीन महिना पनि नपुग्ने भएकाले यार्सागुम्बाको स्रोतबाट वर्षभरि खान पुग्ने खाद्यान्न जोहो गर्ने क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ ।

यद्यपि आर्थिक रूपमा यार्सागुम्बा हिमाली क्षेत्रको बलियो आयस्रोतको रुपमा परिचित भएपनि अहिले त्यहीँ यार्सागुम्बा हिमाली क्षेत्रका नागरिकका लागि काल बनेर आएको छ ।

अपिहिमाल गाउँपालिकाका स्थानीयवासी यार्सागुम्बा सङ्कलनका लागि अहिले पाटनमा छन् । जेठ पहिलो सातादेखि सङ्कलनमा हिँडेकामध्ये तीन साता नपुग्दै तीन जनाले ज्यान गुमाएका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएपछि लेकतिर हिँडेकामध्ये दुई महिला र एक पुरुषले अकालमै ज्यान गुमाउन बाध्य भएका छन् ।

अपिहिमाल–३ काटैका जयमती कार्कीको यही जेठ १७ गते गाउँ नजिकैको मिच्छा वनमा यार्सागुम्बा सङ्कलनका क्रममा भीरबाट लडेर ज्यान गयो । स्थानीयवासी निरुता कार्कीका अनुसार गाउँ नजिकैको यार्सागुम्बा पाइने वनमा जयमती गत जेठ १० गतेमात्रै यार्सागुम्बा सङ्कलन गर्न पाटन गएकी थिइन् । घरमा चार छोरी र एक छोरा छन् ।

गत साता अपिहिमाल–५ का चुन्धरी धामीको सातगङ्गा वनमा यार्सागुम्बा सङ्कलनका लागि गएको बेला पाटनमै मृत्यु भयो ।

उनलाई सामान्य पेट दुख्ने बिरामी भएकी धामीको औषधि उपचार पाउन नसक्दा यार्सागुम्बा पाइने पाटनमै अकालमै मृत्यु भयो । लेकमै मृत्यु भएको दुई दिनपछि मात्रै परिवारले जानकारी पाएका थिए ।

यसैगरी जेठ पहिलो साता अपिहिमाल–४ का मोहनसिह ठेकरे हिउँ पहिरोमा परी बेपत्ता भए । बेपत्ता ठेकरेको शव अझै फेला परेको छैन । यार्सागुम्बा सङ्कलन शुरु भएको तीन साताको अवधिमा अपिहिमालकै मात्र तीन जनाले ज्यान गुमाएका छन् ।

जिल्लाभरि अहिले हिमाली क्षेत्रका नागरिकहरु यार्सागुम्बा सङ्कलन गर्न पाटनतिर गएका छन् तर यो पटक मौसममा देखिएको परिवर्तनले ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।

अपिहिमाल–२ का हरीशचन्द्रसिंह कार्की भन्छन्, “मान्छेको मृत्यु हुन थालेपछि धेरै यार्सागुम्बा सङ्कलक अहिले गाउँ फर्किरहेका छन् । गाउँका अधिकांश मानिस फर्किएर गाउँमै योजनाका काममा खटिएका छन् । लेकमा यार्सा पाइँदैन । हिउँ पग्लिएको छैन, जोखिम मोल्नुभन्दा गाउँकै विकास निर्माणमा लाग्छौँ भनेर फर्किएका छन् ।”

शीर्ष समाचार

धेरै पढिएको