April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

कोरोना संक्रमण दर घट्यो भन्दै झुक्याउदै सरकार

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्यांकले कोरोना संक्रमितको संख्या घट्दै गएको देखिएको छ । तर, संक्रमण घट्दै गएर संक्रमितको संख्या घटेको नभई पीसीआर परीक्षण नै कम गरिएकाले संक्रमितको संख्या कम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

दैनिक करिब २० हजारको हाराहारीमा पीसीआर परीक्षण हुँदै आएकोमा पछिल्लो समय १० देखि १२ हजारको संख्यामा मात्र पीसीआर परीक्षण भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले समेत स्पष्ट पारेको छ ।

संक्रमितको संख्या कुल परीक्षणको ३० देखि ३५ प्रतिशत रहेको अवस्थामा कोरोना संक्रमण घट्यो भन्नु नागरिकलाई झुक्याउने काम मात्र भएको उनीहरूको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेल पनि नमुना संकलन नै कम भएकाले परीक्षण घटेको स्वीकार्छन् ।

उनले अझै पनि परीक्षणलाई समुदायस्तरमा लैजान नसकिएको र अधिकांश पीसीआर परीक्षण कोरोनाको लक्षण देखिएर अस्पताल वा स्वास्थ्य संस्थामा आई नमुना दिनेको मात्र भएको बताए । उनले स्थानीय तहमा एन्टिजेन परीक्षण पनि कमै मात्र भएको बताए।

पछिल्लो समय देशभर सरकारी र निजी गरी ९० वटा ल्याबमा कोरोना परीक्षण हुँदै आएको छ । यसका साथै भारत र नेपालको सीमा नाका तथा स्थानीयस्तरमा एन्टिजेनमार्फत परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले उल्लेख गर्दै आएको छ ।

मन्त्रालयले ११ लाखको हाराहारीमा एन्टिजेन कीट सम्पूर्ण स्थानीय पालिका तहमा पठाएको छ । तर, कहाँ–कति परीक्षण भइरहेको छ । त्यसको नतिजा अझै राम्रोसँग मन्त्रालयलाई आइसकेको छैन । नेपाल समाचारपत्र दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको