October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

बाढीले सुनकोसीमा निर्माणाधीन पुल भत्कियो, ६ करोडको क्षति

सिन्धुली, पछिल्लो समय परेको लगातार वर्षाका कारण सुनकोसी नदीमा आएको बाढीले सिन्धुली–ओखलढुंगा जोड्न नवलपुरघाटमा निर्माणाधीन मोटरेबल पक्की पुल भत्काएको छ ।

निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सनका अनुसार भर्खरै सेटरिङ ढलान गरिएको ४० मिटर संरचना पूरै बग्दा ६ करोड बराबरको क्षति भएको हो ।

सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवपुरघाटबाट ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ पलापु जोड्ने पुल भत्किएको हो ।

वर्षाअघि नै ढलानको काम सम्पन्न गर्ने लक्ष्य राखिएकोमा बाढीले सबै बगाइदिएको कम्पनीका प्रतिनिधि मदन माझीले बताएका छन् ।

‘पहिलो चरणको ढलान सकेर सेटरिङ खोल्न नपाउँदै बगायो,’ उनले भने, ‘ढलान सकिएपछि केबल तान्ने र असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य थियो ।’ उनका अनुसार यो पुल नयाँ प्रविधिअन्तर्गतको ‘केबल ब्रिज’ हो ।

२ सय १० मिटर लम्बाइ रहेको पुलको लागत २३ करोड छ । फिक्कल गाउँपालिका–२ का वडाध्यक्ष शंकर भण्डारीका अनुसार सुनकोसीमा बनाइएको पुल साधारण बाढीले पनि बगाउनुले निर्माणको गुणस्तरमा प्रश्नचिह्न उठेको छ ।

शीर्ष समाचार

धेरै पढिएको