October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

साढे २ करोड जनसङ्ख्याको पहुँचमा पुग्यो इन्टरनेट

काठमाडौं, नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको छ । चालु आर्थिक वर्ष (२०७७/७८) को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको उक्त तथ्याङ्कअनुसार गत माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । गत माघमा कूल दुई करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो ।   

नेपालमा कूल जनसङ्ख्यामध्ये फागुन मसान्तसम्म ८७ दशमलव १९ प्रतिशत जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । फागुनसम्म मोबाइल इन्टरनेटको हिस्सा ६४ दशमलव ०८ प्रतिशत छ । एक करोड १५ लाख ६५ हजारभन्दा बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ ।

जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९० लाख ९४ हजार र एनसेलको २४ लाख ७० हजार रहेको जनाइएको छ । गत माघमा एक करोड १३ लाख ५१ हजार प्रयोगकर्ता रहेकामा फागुनमा दुई लाखभन्दा बढी थ्रिजीका प्रयोगकर्ता थपिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको