June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणबाट एकैदिन ३४ जनाको मृत्यु

मकवानपुर, वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो ।

यसैगरी ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुई-दुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एक-एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिएका छन् ।

वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा चार हजार ६५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा काठमाडौँ दुई हजार ७८८, ललितपुरका ६०२, भक्तपुरका ५३७, रसुवाका एक, नुवाकोटका ७३, धादिङका ११५, चितवनका १२४, सिन्धुलीका ४७, मकवानपुरका ११६, रामेछाप २४, दोलखाका १५, काभ्रे १५५ र सिन्धुपाल्चोकका ५८ जना छन् ।

हाल वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३ हजार ३७५ जना छन् । तीमध्ये संस्थागत आइसोलेशनमा दुई हजार ४८१, विभिन्न अस्पतालले सञ्चालन गरेको एचडियूमा ३७८, आइसियूमा ६९८, भेन्टिलेटरमा २२० उपचाररत रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको