June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

बालक मृत्यु प्रकरण: दोषीलाई पक्राउ नगरेसम्म शव नउठाउने बालकका अभिभावकको अडान

काठमाडौं, तुलसीपुर उपमहानगरपालिका–६ को स्याउलीबजारमा पाँच दिनअघि रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझैसम्म शव बुझ्न मानेका छैनन् । घटनामा संलग्न दोषीलाई पक्राउ गरी सार्वजनिक नगरेसम्म शव नउठाउने बालकका अभिभावकले बताएका छन् ।

उनीहरुले बुधबार उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई भेट गरी ध्यानाकर्षणसमेत गराएका छन् । सोही अवसरमा नगरप्रमुख पाण्डेले अनुसन्धानमा सहयोग गर्न पीडित परिवारलाई आग्रह गरेका छन् ।

नगरप्रमुख पाण्डेले अपराधपूर्ण कार्य भए कारवाही गर्नुपर्ने जनाउँदै त्यसका लागि पीडित परिवारले अनुसन्धानका लागि थप प्रमाण जुटाउनका लागि सहयोग गर्नुपर्ने बताएका छन् ।

घटनालाई निष्पक्ष तवरले अनुसन्धान गर्न तुलसीपुर प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै नगरप्रमुख पाण्डेले भिसेरा रिपोर्टपछि घटनाको वास्तविकता खुल्ने जिकिर गरे ।

यस्तै तुलसीपुरको स्याउली बजारमा यहि वैशाख १९ गते आरजेओआईसीसी ०८८५ भारतीय नंको कारमा बरुवागाउँ निवासी भीमबहादुर परियारका नौ वर्षका छोरा सन्दीप, सोही ठाउँका सन्तोष परियारका सात वर्षका छोरा सुवर्ण र कृष्ण परियारका छ वर्षका छोरा करण मृतावस्थामा भेटिएपछि उक्त परिवार न्याय खोज्दै विभिन्न निकायमा पुग्ने गरेको छ ।

कारधनी यादवप्रसाद गैरे र चालक पदमबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरी हाल ज्यान मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको