June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

गाउँगाउँमा कोरोना फैलिएपछि घरमै पुगेर बिरामी जाँच्दै स्वास्थ्यकर्मी

बाजुरा, बाजुरा जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर दिनप्रतिदिन तिव्र गतिले बढिरहेको छ । स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दका अनुसार कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर कोरोना जाँचसँगै उपचार तथा परामर्श दिइरहेको छ ।

बुधबारसम्म बाजुरामा १०८ कोरोना सङ्क्रमित रहेका छन् । जसमध्ये एक महिलाको बुधबार मृत्यु भइसकेको छ भने चार जना जिल्ला अस्पतालको आइसोलेशनमा उपचार गरिरहेका छन् ।

बाँकी सबै होम आइसोलेशनमा र केही सङ्क्रमित स्थानीय तहले बनाएको आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा छन् । गाउँगाउँमा कोभिड फैलिएपछि स्वास्थ्य कार्यालयले एन्टिजेन जाँच घरमै पुगेर गरिरहेको छ ।

यस्तै हिमाली गाउँपालिका–५ कवाडीमा जिल्ला स्वास्थ्य कार्यालयले चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाएर घरमै कोभिड जाँच तथा उपचार गरेको छ ।

जिल्ला अस्पतालमा कार्यरत डा.दीपेन्द्र बुढा, स्वास्थ्य कार्यालयमा कार्यरत ल्याब टेक्निसियन रतन बुढा र जगत शाहीले कवाडी गाउँमा पुगेर जाँचसहित उपचार तथा परामर्श दिएको थियो ।

सो गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको हो । गाउँपालिकामा पुुगेको चिकित्सक टोलीले कोरोना सङ्क्रमितलाई उपचारका साथै उनीहरुलाई परामर्शसमेत दिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको