March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

एमाले निकट प्रवासी संगठन यूएईमा २१ सदस्यीय कमिटी पुनर्गठन

यूएई, नेकपा एमाले निकट प्रवासी संगठन नेपाली मञ्च यूएईमा नयाँ कमिटी पुनर्गठन भएको छ । प्रवीण पोखरेलको अध्यक्षतामा शुक्रबार २१ सदस्यीय कमिटी पुनर्गठन गरिएको हो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको भन्दै पार्टीमा समानान्तर अभ्यास गरिरहेको एमालेका खनाल–नेपाल समूहले विदेशस्थित भातृ संगठन पुनर्गठन थालेको हो ।

प्रवासी नेपाली मञ्च पश्चिमी एशिया (खाडी क्षेत्र) अन्तर्गतका विभिन्न देशहरुको संयुक्त बैठकद्वारा कतारमा रामहरि गैरेको नेतृत्वमा ४३ सदस्यीय, यूएईमा प्रबिन पोख्रेल र सचिब बिपिन सापकोटाको नेतृत्वमा २१ सदस्यीय, ओमनमा लिलानाथ कोइरालाको नेतृत्वमा २३ सदस्यीय, साउदी अरबमा राजु खनालको नेतृत्वमा २१ सदस्यीय र कुबेतमा युवराज गैरेको नेतृत्वमा १५ सदस्यीय राष्ट्रिय कमिटीहरु पुनर्गठन गरी घोषणा भएको हो ।

वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा यहीँ शुक्रबार बसेको भर्चुअल बैठकले पोखरलेको नेतृत्वमा कमिटी पुनर्गठन गरेको हो । धनकुटा स्थायी घर भएका पोखरेल नेपालमा विद्यार्थी, युवा हुदैं पार्टी राजनीतिमा सक्रिय रहेका थिए । उनी नेकपा (एमाले) अप्ठ्यारो अवस्थामा रहेका बेला युथफोर्स धनकुटाका प्रमुख थिए ।

पुनर्गठित कमिटीको उपाध्यक्षमा दिपक राउत, सचिवमा वुद्धिप्रसाद सापकोटा (बिपिन), सहसचिवमा नरेश क्षेत्री, कोषाध्यक्षमा चेतनारायण भट्टराई चयन भएका छन् । यसैगरी सदस्यहरुमा दुर्गा भण्डारी, विमल घमाली, यादकुमार श्रेष्ठ, यज्ञ भण्डारी, बाबुराम थापा, प्रवीण गरुङ, रामकुमार राउत, दिपक पोखरेल, भेषराज भण्डारी, बाबुजी क्षेत्री, विष्णु श्रेष्ठ, केदार दाहाल, कुमार सुवेदी, प्राण वम्जन तामाङ, निवेश गोविन्द शंखर र घिमिरे जंग रजन चयन भएका छन् ।

पूर्वमन्त्री तथा एमाले उपमहासचिव घनश्याम भुसालको विशेष आतिथ्यमा सम्पन्न भएको उक्त भेलामा प्रवास इञ्चार्ज श्रीप्रसाद शाहकोसमेत अध्यक्षता रहेको थियो ।