April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

हुम्लामा आठ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

सांकेतिक तस्वीर

सिमकोट, हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । मङ्गलबार (हिजो) दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो ।

स्थानियका अनुसार आफ्नै साथीसँग खेलिरहेकी बालिका बोहरालाई केही समयपछि मृतावस्थामा भेटिएको बताइएको छ ।

गोठमा राखिएको खच्चडलाई प्रयोग गर्ने डोरीले बाँधिएको अवस्थामा बालिका बोहरा भेटिएकी थिइन् । स्थानीय पञ्चमुखी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्ने बोहराको मृत्यु शङ्कास्पद भएको बताइएको छ ।

केही स्थानीयवासीले आत्महत्या भनेर बाहिर प्रचार गरे पनि बालिकाले कसरी आत्महत्या गरिन् भन्दै प्रहरीले शङ्कास्पदरूपमा लिएको छ ।

घटनाको खबर पाउनेबित्तिकै दोजम प्रहरी चौकीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले बालिकाको मृत्यु रहस्यमय भएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली घटनास्थलमा पुगेको छ ।

हाल मृतक बालिकाको शवलाई सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा ल्याएर शव परीक्षण गरिने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको