November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ

काठमाडौं, नेपाल आयल निगमले शनिबार फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा ८१ करोड रुपैयाँ घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो । 

निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ । शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले वृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ पुगेको छ । डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ । आन्तरिक उडानतर्फको हवाइ इन्धनको साविकको बिक्री मूल्यमा दुई रुपैयाँ वृद्धि हुँदा प्रतिलिटर ७६ रुपैयाँ पुगेको छ ।

खाना पकाउने ग्यास र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको भने मूल्यवृद्धि गरिएको छैन । निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ४१७ रुपैयाँ ४७ पैसा घाटा रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको