May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी

  • 24
    Shares

काठमाडौं, नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् । यहीँ चैत २५ गते भएको मतदानको औपचारिक घोषणा निर्वाचन समितिले शनिबार साँझ गरेको हो । 

समितिका अनुसार अध्यक्षमा विजयी पोखरेलले ६ हजार ९४२ मत पाएका हुन् भने उनकी निकटतम प्रतिद्वन्द्वी निर्मला शर्माले ३ हजार ९१५ मत ल्याएकी छन् । अध्यक्ष पदमा पोखरेल र शर्माको मतअन्तर ३ हजार २७ रहेको छ । 

महासंघ चुनावमा प्रेस युनियन, प्रेस संगठन र माधव नेपाल समूह निकट प्रेस चौतारीसहितले पोखरेल नेतृत्वको गठबन्धनले प्यानल नै जितेको हो ।  

अध्यक्ष प्रत्याशी शर्माले लोकतान्त्रिक प्रक्रियाबाट आएको परिणामलाई स्वीकार गर्दै अध्यक्ष निर्वाचित पोखरेललाई बधाई दिएकी छन् । निर्वाचन समितिले औपचारिक घोषणा गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् शर्माले पोखरेल नेतृत्वको टिमलाई बधाई दिएकी हुन् । 

महासंघको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीमा भएको हो । चुनावमा १३ हजार बढी मतदाता थिए । उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् । विष्ट ६ हजार ७४१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माधव नेपालले ३ हजार ७८१ मत पाए ।  महिला उपाध्यक्षमा बाला अधिकारी विजयी भएकी छन् । बाला ७ हजार २२६ मत ल्याएर विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी दाना केसीले ३ हजार ५२८ मत ल्याएकी छन् । 

समावेसी उपाध्यक्षमा उदय जीएम निर्वाचित भएका छन् । जिएम ६ हजार ११७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी अवधेश झाले ३ हजार ५६१ मत ल्याए । 

महासंघको महासचिवमा  रोशन पुरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी बालकृष्ण बस्नेतले ३ हजार ८६० मत पाए । महासचिव पदमा पुरी र बस्नेतको मत अन्तर दुई हजार ३८२ छ । 

महासंघको खुला सचिवमा गोविन्दप्रसाद चौलागाई विजयी बनेका छन् । उनले ६ हजार ७१ मत पाएका छन् । उनका प्रतिस्पर्धी रामकृष्ण ज्ञवालीले ३ हजार २१ मत ल्याए । 

यस्तै, महिला सचिवमा सिर्जना अर्याल निर्वाचित भएकी छन् । अर्यालले ६ हजार ५८० मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी निमा काफ्लेले चार हजार ८९ मत पाएकी छन् । आदिवासी जनजाती सचिवमा नारायण सुन्दर किलम्बु विजयी भएका छन् । उनले ६ हजार तीन सय मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शाहीमान राईले ३ हजार २८९ मत पाए । 

शीर्ष समाचार

धेरै पढिएको