April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

हेटौंडामा काम सम्पन्न नगर्ने ७ निर्माण कम्पनीमाथि कारबाही, कालोसूचीमा राख्ने तयारी

हेटौंडा, सडक डिभिजन कार्यालय हेटौंडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारबाही थालेको छ ।

पटकपटक लिखित र मौखिकरुपमा ताकेता गर्दासमेत सम्पर्कमा नआएपछि ती सात वटा निर्माण कम्पनीसगँको ठेक्का सम्झौतासमेत तोडेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायले बताएका छन् ।

आशिया कन्स्ट्रक्सन, सौरभा कन्स्ट्रक्सन, सरस्वती निर्माण सेवा, सोनु कन्स्ट्रक्सन, नन्दनी कन्स्ट्रक्सन, जिपिवी कन्स्ट्रक्सन र दामुचन्द्रमाला कन्स्ट्रक्सन विरुद्ध कारबाही प्रक्रिया अगाडि बढेको छ । ती कम्पनीसँगको ठेक्का सम्झौतासमेत तोडिएको छ भने कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी उपाध्यायले जानकारी दिएका छन् । गत असोजमा ती कम्पनीसँगको सम्झौता तोडिएको हो ।

एघार वर्ष अगाडि विभिन्न सडक निर्माण र मर्मत ठेक्काको सम्झौता गरेका ती निर्माण कम्पनीलाई निर्माण सम्पन्न गर्न तोकता गरिए पनि लामो समयदेखि सम्पर्कमा नआएपछि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालय काठमाडौँमा सिफारिस गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ३० दिनभित्र स्पष्टीकरण पेश गर्न ती कम्पनीलाई निर्देशन दिएको छ । तोकिएको समयमा स्पष्टीकरण नदिएमा कालोसूचीमा राखिने छ ।

शीर्ष समाचार

धेरै पढिएको