August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

पाँच नयाँ कार्यक्रममार्फत १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाइने

काठमाडौं, युवा तथा साना व्यवसायी स्वरोजगार कोषले चालु आर्थिक वर्षमा १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ । उक्त कोषले ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रममार्फत स्वरोजगार बनाउन शुरुआत गरेको हो ।

विभिन्न आर्थिक अभावका कारण स्वरोजगार बन्न नसकेका युवालाई कोषले रु दुई लाख सहुलियत दरमा ऋण उपलब्ध गराउने गर्दछ । कोषका कार्यकारी उपाध्यक्ष डा कल्याण रोकाका अनुसार कोषले सहकार्यमा आधारित साझेदारी कार्यक्रम, कोशी इकोनोमिक करिडोर कार्यक्रम, भेरी–कर्णाली इकोनोमिक करिडोर कार्यक्रम, काठमाडौँ उपत्यकाका स्वरोजगार कार्यक्रम र तराई–मधेश स्वरोजगार जस्ता नयाँ पाँच कार्यक्रम सञ्चालन गरेर १२ हजार युवालाई स्वरोजगार बनाउन थालिएको हो ।

उनले अहिले ती कार्यक्रमको सञ्चालनका लागि अनुगमनको कार्य भइरहेकाले चाँडै नै युवालाई कर्जा प्रवाह गरेर स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गरिने बताएका छन् । ती युवालाई आफूले जानेको सीप, क्षमता र ज्ञानका आधारमा व्यवसाय सञ्चालन गर्नका लागि कोषले ३.२ प्रतिशत ब्याजमा रु दुई लाख उपलब्ध गराउने छ ।

शीर्ष समाचार

धेरै पढिएको