June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

आइतबारबाट मेलम्ची पानी काठमाडौंका धारामा छाड्ने सरकारको तयारी

काठमाडौं, चैत १३ । बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गर्न लागिएको छ ।

आगामी २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानी कार्यक्रम उद्घाटन गर्ने तयारी छ । उनीबाट भृकुटी मण्डपस्थित जडित नयाँ धाराको टुटी खोलेर मेलम्ची पानी उद्घाटन गरि“दै छ । त्यसअघि नै आइतबारदेखि मेलम्ची उपआयोजनाअन्तर्गत आयोजना निर्देशनालयले १५ चैतमा ४ करोड लिटर पानी छाड्ने छ । यसको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरिएको छ । त्यसदिन सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाडिनेछ ।

आगामी २१ चैतमा पानीपोखरी र बाँसबारीस्थित ओभरहेड ट्यांकीमा दैनिक साढे ८ करोड लिटर पानी छाडेर सो प्रणालीबाट वितरण हुने क्षेत्रका उपभोक्ताका घरमा पानी आपूर्ति हुनेछ । दुई सातापछि भने भक्तपुरमा मेलम्ची पानी छाडिने जनाइएको छ । पानी वितरणका लागि निर्देशनालयले ३० हजार नयाँ धारा जडान गरेको छ भने अन्य ठाउँमा केयूकेएलको पुरानो पाइपमार्फत परीक्षण गर्दै पानी आपूर्ति तयारी गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्र आइतबार मेलम्ची पानी काठमाडौंवासीका धारामा छाड्ने जानकारी गराएका थिए । एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले सरकारले उल्लेख्य प्रगति गरेको जनाउँदै मेलम्ची पानी काठमाडौंवासीका घरका धारामा छाडिने बताएका थिए । मेलम्ची खानेपानी आयोजनाले १० पोखरीमध्ये ९ वटाको काम सम्पन्न भइसकेको जनाएको छ । यसअघि, गत २२ फागुनमा मेलम्चीबाट सुरुङमा खसालिएको पानी परीक्षण गरिएको थियो ।

परीक्षणका लागि गत १० फागुनमा सुरुङमा खसालिएको सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पानी २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको थियो । सो पानी प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको थियो । सोही पानी सुन्दरीजलमा रहेका दुई प्रशोधन केन्द्रमा खसालेर वितरण प्रणालीमार्फत बाँड्ने तयारी गरिएको हो ।राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको