April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

बाराको परवानीपुर गाउँपालिकामा सातौँ गाउँ सभा सम्पन्न

बारा, बाराको परवानीपुर गाउँपालिकाको आज सातौं गाउँ सभा परवानीपुरस्थित कृषि अनुसन्धान केन्द्रमा सम्पन्न भएको छ । कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष गजेन्द्र पटेलले आफ्नो शुभकामना मन्तव्य राख्दै यस गाउँपालिकाको विकासको लागि सबै मिलेर काम गर्न आवश्यक रहेको बताएका छन् ।

उनले विगतमा भएको कमी कमजोरीहरुलाई बिर्सेर नयाँ ढंगले अगाडि बढ्नेमा जोड दिए । सभाका विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार चौरसियाले शुभ कामना दिँदै सबै गाउँपालिकाका प्रतिनिधिहरुसँग मिलेर काम गर्ने प्रतबद्धता व्यक्त गरे ।

वहाँले अहिलेको समयलाई बढी भन्दा बढी काम गरेर देखने कुरामा जोड दिएका छन् । यस्तै उनले कानुनको दायरामा रहेर योजना बनाउन सबै जनप्रतिनिधिसँग आग्रह गरे । सभाका प्रमुख अथिति तथा गाउँपालिका प्रमुख हरि नारायण शाहले सभामा बोल्दै २० वर्षमा नभएको काम आफूहरुले ३ वर्षमा गरेर देखाएको बताए ।

उनले गाउँपालिकाको विकास हेर्न हरेक वडामा जान आम नागरिकलाई आग्रहसमेत गरेका छन् । कोरोना महामारीका कारण गाउँपालिकाको विकास निर्माणमा केही कमी भएपनि छुटेका योजनाहरुलाई यस सभाबाट परिपूर्ति गर्ने बताए । उनले गाउँपालिकाको विकासमा सहयोग पुर्‍याएका सबै वडा अध्यक्ष, गाउँपालिका सदस्य, कर्मचारी लगायतलाई धन्यवाद दिए ।

आजको सभा सर्व-सहमतिले पारित भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, सावित्री देवी, पाँच वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिका सदस्य, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतहरुको उपास्थि रहेको थियो भने कार्यक्रम सञ्चालन रवीन्द्र कुमार मिश्रले गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको